टोखावासीले भने -वृद्धवृद्धालाई माया गर्ने पार्टी एमाले

प्रकाशित मिति :2017-05-08 12:07:17


टोखा

टोखा नगरपालिका वडा नम्बर ३ बानियाँटार हाइटका ८५ वर्षीय जनार्दन बानियाँले बुढेसकालको एक मात्र सहारा एमाले भएकाले एमालेलाई जिताउन सूर्य चिह्नमा भोट दिने बताउनुभयो ।

उहाँले एमालेको टोखा नगरपालिकाका मेयरका उम्मेदवार प्रकाश अधिकारीसँग उहाँले मूल्यवृद्धि दिनप्रतिदिन बढिरहेकाले वृद्धभत्ता वृद्धि गर्नसमेत आग्रह गर्नुभयो ।
मेयर अधिकारीले आफूले जिते पार्टीले घोषणा गरेअनुसार नै वृद्धभत्ता पार्टीको घोषणाअनुसार ५ हजार पु¥याउने प्रतिबद्धता व्यक्त गर्दै सूर्य चिह्नमा मतदान गरी एमालेलाई जिताउन आग्रहसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वृद्धभत्ता एमालेले सुरु गरेको हो, एमालेले नै बढाएको छ । हामी खुसी छौं, भोट दिएर जिताउँछौं । भत्ता फेरि बढाउनू है नानी !’
सोही वडाका ३० वर्षीय कृष्ण पौडेलले टोखामा विशेष गरी खानेपानी, ढल र बाटोको समस्या टड्कारो रूपमा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘खानेपानी हप्तामा दुई दिन त्यो पनि बडो मुस्किलले आउँछ । खानेपानी समस्या समाधानमा ध्यान जान जरुरी छ । राष्ट्रिय स्वाभिमान र अखण्डताको पक्षधर संविधान कार्यान्वयन गर्न पनि एमालेलाई भोट दिने हो ।’

नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी टोखा नगरपालिकामा चुनावी प्रचारप्रसार अभियानलाई तीव्रता दिँदै आएका छन् । टोखाका विभिन्न वडामा घरदैलो कार्यक्रममा भोट माग्न घरदैलोमा अभियानलाई मेयरका उम्मेदवार प्रकाश अधिकारी, उपमेयरका उम्मेदवार ज्ञानुमाया डंगोलले तीव्र पार्नुभएको छ ।
उहाँहरूले स्थानियवासीसँग आफूहरूलाई जिताउन आग्रह गर्दै जिते स्थानीयका माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँहरूले टोखामा विद्यमान खानेपानीको समस्या समाधानका लागि स्रोतको पहिचान गरिसकेको बताउँदै खानेपानीको समस्याबाट टोखावासीलाई मुक्ति दिलाउने बताउनुभयो ।
मेयर, उपमेयर, वडा अध्यक्ष, सदस्य, स्थानीयसहितको टोलीले घरदैलो कार्यक्रमलाई तीव्र पार्नुभएको छ ।

दिपु पोख्रेलबाट

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula