एमालेको छुकछुके रेल

प्रकाशित मिति :2017-05-07 16:16:41

–रामकुमार एलन
‘बिहानै दिशा बस्दा थूःथू गर्दै त्यस्ता कुरा बिर्सनु,’ आमाले सुनाएको कुरा सम्झँदै अनि आँखा मिच्दै–ज्यान मर्काउँदै खिनौरी चेपाङ त्यही कुरा सम्झिन थालिन्, ‘किन बुबाले आज एमालेको छुकछुके रेलको कुरा सुनाउनु भयो ? मरेको मान्छे त सपनामा बोल्दैन भन्थे, बुबा किन गफिनु भयो ?’
सानो छँदा पनि बुबा खेने चेपाङ यति धेरै छोरीसँग बोलेको याद छैन खिनौरीलाई । बिहानै कम्मरमा फुर्लुङ भिरेर मनहरी र गोरंती खोलामा जाल हाल्न जानुहुन्थ्यो । कहिले भिन्छुक दहमा चुच्चे माछा तान्न त कहिले दुवाली थुन्नमै बुबाको दिन बित्यो । दिन के महिना, वर्ष हुँदै सिंगो जीवन बित्यो ।
दिनभर खोलामा माछा खोज्नुहुन्थ्यो बुबा । असलमा उहाँ माछा होइन, हाम्रो भविष्य खोज्नुहुन्थ्यो । आमा, भाइ र मेरो भोक मार्ने कीरा खोज्नुहुन्थ्यो । फुर्लुङमा जम्मा भएका केही माछा मार्सानीको भट्टीतिर बेचेर दुई माना पीठो लिएर आउनुहुन्थ्यो । साँझ केही माछा र झोल अनि ढिँडोले हाम्रो भोक टर्थ्यो । एकपटक माछा धेरै मारेर बुबाले घाँगर पनि किनेर ल्याइदिनु भएको थियो ।
गाउँमा चुनाव आयो । अलिअलि सम्झन्छु । २० वर्षअघिको कुरा बुबालाई पनि वडासदस्यको टिकट आयो । उहाँ चुनावमा जित्नु पनि भयो । ‘गाउँभरिका मान्छेलाई माछा खुवाउने खेने चेपाङ सदस्य भयो,’ उहाँ खुशी हुँदै आउनु भएको दिन अलिअलि सम्झना छ । भन्नुहुन्थ्यो, ‘एमालेले सदस्य बनायो, अर्कोपटक वडाध्यक्ष हुनेछु ।’
०००
एक हुल लाठेहरु आए । बुबालाई समातेर जंगलतिर लगे । खोइ के–के आरोपको बर्को ओढाए । भट्टीमा पुलिससँग तास खेलेको, गाउँमा आएको बजेटमा ठूलाठालुले भ्रष्टाचार गर्दा बुबाले ल्याप्चे मारेको भन्दै रुखमा बाँधेर पिटेछन् । रुँदै आउनु भयो । भन्नुभयो, ‘तिमीहरु सबैको जन्मदर्ता, नागरिकता बनाइदिन्छु, म मरे पनि परिचय त पाउँछौँ ।’ आमाको पनि नागरिकता बन्यो । गाउँको बाटो खन्ने समितिमा सदस्य हुनुभयो । बुबा मछुवारेबाट समाजसेवी जनप्रतिनिधि हुनु भयो । बाटो खन्न आएको चामल माग्दै एक हूल आए । बुबाले मेरा छोराछोरीले बाटो खन्दा त माना भरेर चामल दिन्छु, तिमी राइनासे बजियालाई किन दिन्छु, लुटेर खानेहरु भन्दै गाली गर्दा उहाँ कुटिनु भयो । गाउँलेले लौ न सदस्य खेने मर्ने भयो भन्दै उलिनकाठमा हालेर अस्पताल लैजान खोज्दा मनहरी नपुग्दै बुबाको प्राण उड्यो । हामी टुहुरा भयौँ । गाउँले पनि अपराधीले मारे खेने चेपाङ भन्दै रोए । बच्चै छँदा बुबा बित्नु भयो ।
०००
आमा भन्नुहुन्थ्यो, ‘तिम्रो बुबाले साँच्चै हामीलाई माछा मार्न होइन माछा पाल्न सिकाएर जानु भएको छ ।’ कुरा बुझ्दिनँ थिएँ, के भन्नुहुन्छ आमा ? आमा गाउँघरमा महिला समूह बनाउन थाल्नु भयो । मनहरी र चुर्लिङ अनि गोरंती खोलामा दिनभर माछा मार्न जानेहरु सहकारी खोल्न थाले । बचत गर्न थाले । कसैले बाख्रा पाले । कसैले कुखुरा, भैँसी । गाउँका महिलाहरु जागेपछि साँच्चै प्रगति हुँदो रहेछ । आमा त हेर्दाहेर्दै राजनीति पो गर्न थाल्नु भयो । अर्को चुनाव आउँदा म भर्खर ‘पर सरेकी’ थिएँ । आमा पो बुबाको सपना पूरा गर्दै ‘वडाध्यक्ष मुंग्रीमाया चेपाङ’ हुनु भयो । बुबाको अभाव पूरा गर्दै आमाले हामीलाई पढाउनु भयो ।
‘देख्यौ त छोरी एमालेको छुकछुके रेल, तिम्री आमा र तिमीहरु खुशी देखेर म पनि रमाइलो मानिरहेको छु, यो सब मेरो मेहेनत मात्र होइन, एमालेको छुकछुके रेलको पनि कमाल हो,’ सपनामा बुबाले यसो भन्नुभएको कुरा आमालाई सुनाउँदा त हो गाली गर्दै भन्नुभएको, ‘मरेको मान्छे सपनामा बोल्दैन, यस्तो कुरा दिशा बस्दा थूःथूः गर्दै बिर्सनु ।’
०००

आर्मीका जस्तै लुगा लगाएर आउँथे गाउँमा । मलाइ पनि आँखा लगाउँथे । भन्थे, ‘समाज फेर्न र यो देशको क्रान्तिकारी परिवर्तन हेर्न हामीसँग हिँड्नुपर्यो खिनौरी ।’ गाउँमा बन्दुक पड्काउँथे । हेडसरको बन्दुक खोस्थे । असीमुरे साउको खेतबाटै धान लुट्थे । विरोध गर्दा कुट्थे । जनमुखी साँइलालाई त घिसारीघिसारी मारे । ती सबै ताजा दृश्यहरु घुम्छन् आँखाभरि । अनि सेना र पुलिस पनि उनीहरुसँग बोलेको देखेर कसरी गाली गर्थे । छिःछिः केसम्म बोल्न सकेको मूर्दारहरुले । दिउँसै हात कहाँकहाँ पु¥याउँथे । चिथोरेर मारुँ झैँ रिस उठ्थ्यो, कहिलेकहीँ त बन्दुक बोकेर जाउँ झैँ पार्थे यिनीहरु पनि ।
०००
हेडसरलाई पनि मारे । धन्न बुबा सदस्य हुँदा उहाँकी श्रीमतीको पनि नागरिकतालगायतका कागजात बनेको थियो र राज्यले दिने सुुविधा चैँ पाउनु भयो । कतिले नागरिकता बनाएनन् । गाउँबाट सचिव पनि यिनै राइनासे ठिटाले लखेटे । सदरमुकाममा पनि काम हुन्थेन । सचिव साक्षी माग्थ्यो, पाँचजना भन्दा बढी गाउँबाट गयो कि सेना र पुलिसले नजरबन्दमा थुन्न बेर लगाउँथेन । हल्दार चेपाङलाई त माओवादी भन्दै थुनेर पिट्दा आँखा फुट्यो । म्याउची चेपाङ त जबर्जस्तीमा परिछे । पछि पेट बोकेर मनहरी खोलको भलमा डुबेर मरी । गाउँ मसानघाटजस्तो थियो । अनि पुरुष कोही थिएनन् । सेना पुलिस पनि बिदामा घर आउन सकेका थिएनन् ।
०००
हामी चेपाङलाई एक छाक खान छैन, घर दिन्छु भने । नागरिकता नहुनेलाई जग्गा दिन्छु भने । सबैलाई लाग्योः हो–हो । अघिल्लोपटकको चुनावमा आमालाई पनि उनीहरुले आफ्नो पार्टीमा लाग्न भने । आमा मान्नुभएन । अनेक दबाब आयो । आत्महत्या गरेर मर्लिस् पछिसम्म भने । अस्ति धादिङमा को दलित महिला पनि यस्तै दबाबपटि आत्महत्या गरिन् रे । तर आमा हार खानु भएन । गरिब भए पनि बुबाको त्यो हौसला र प्रेरण अनि दुःखको सागरमा तैरिएको शालिग्रामजस्तै जिन्दगीले हामीलाई अगाडि बढाइरह्यो । तर चुनाव जितेपछि उनीहरु नै कुटाकुट, फुटाफुट र सफेद झुटको खेतीमा लागेर तितरबितर भए । पहिले उनीहरु मिलेर कांग्रेस–एमाले कुट्थे । अहिले उनीहरु आफैँ कुटाकुट गरिरहेका छन् र कांग्रेसले पो बरु एमालेलाई कुट न, हामीलाई पनि सजिलो पर्छ भन्दै तेल लगाइरहेका छन् । कस्तो बेशरम यो राजनीति भन्ने जिनिस पनि । चिजको विकास फरक ढंगले गर्छ । ठोस गर्न खोज्नेहरु ठेस लागेरै मरिराछन् मूर्दारहरु ।
०००
बाटो खुल्यो, गाडी गुडे । गाडी होइन गाउँलेका खुशी र उमंग गुडे । सपनाले शिखर चुम्यो । लुटिएको भिएचएफ फोनका साटो फोरजी आयो । जाति–जनजाति फुटाएर राजनीति गर्छु भन्दा उनीहरु नै फुटे । सामान्त र परिवारवादविरुद्ध परिवर्तनकामी नारा लगाउनेहरुकै परिवारका रुवाबासी र बहुविवाहको गन्थन लेखेर नभ्याइने गरी समाचार आए ।
०००
‘करङको छर्रा निकाल्न सकिएन,’ युद्धप्रसाद तामाङले सुनाए, ‘आफ्नै छोराछोरी पोस्न र मेयर बनाउन युद्ध गरेको भन्ने थाहा पाए म बरु मलेसिया जान्थेँ, किन यसरी जिउ सडाउन तिनीहरुको छापामार बन्थेँ, यसपटक भोट एमालेलाई ?’
‘मेरा बूढा बेपत्ता पारे अपराधीहरुले, न सास न लाश,’ भीमे कार्कीका स्वास्नी पोहोर त माओवादीमै थिइन्, यसपालि भन्छिन्, ‘यी अपराधीलाई यसपटक भोट त के मेरो गाउँ वरपर आए भने पनि फरियाले छोपिदिन्छु ।’
‘मेरो लुटिएको खेत जसले फिर्ता गराइदिन्छ, उसैलाई भोट दिन्छु, जीवनभर काँग्रेस हुँदा जग्गा लुटियो,’ भाइराजा विक्रम ठकुरीले भने, ‘अहिले त उही लुटेरालाई पो मेयरमा भोट हालौँ रे, यसपटक यिनलाई धूलो चटाइन्छ, छुकछुके रेल चलाउने सपना देखाउने पार्टीलाई भोट हालिन्छ ।’
समाचार आयो । अघिल्लो चुनावमा सांसदको उम्मेदवार बनेका कमरेड खरेटो अर्थात् खुमल न्यौपाने नै यसपटक त एमालेमा प्रवेश । उनको भाषण सुनायो एफएमले, ‘सपना सही भए पनि गलत मान्छेले देख्यो भने त्यसले उ मात्र होइन, देश डुब्दो रहेछ । राष्ट्रियता धरापमा पर्दोरहेछ । मलाइ माफ गर्नुहोला । अब म पनि तपाईंको छुकछुके रेलमा सवार हुन आएको छु ।’
गाउँसहर सबैतिर एमालेको छुकछुके रेलको चर्चा हुँदैछ ।
०००
‘नाकाबन्दी हुँदा पनि सपना देखाएर हरेश खुवाएन नि साइँला एमालेले,’ भँडारी काकाले भने, ‘आधा सिलिन्डर ग्यास लिन तीनदिन लाइन लागियो तर परचक्रीको पाउ मोलिएन, यसपटक भोट एमालेलाई ।’
‘होइन नेपालले पहिले पानीजहाज चलाएकै रहेछ त, यी खँड्करो चोरहरु किन बहुलाएका,’ लवाङ दोर्जे स्याङतानले भने, ‘हाम्रो त फुपुको छोरो छेगु वडाध्यक्ष उठेको छ, सबैले भोट एमालेलाई हाल्ने हो यसपालि ।’
‘छातिमा सूर्य चिन्छ खोपेको हो र, राष्ट्रिय झण्डा बोकेर हिँडेको,’ लम्पसारवादीहरुले दौरासुरुवाल त पोलेर खाए नै, राष्ट्रिय झण्डा छातिमा टाँस्दा पनि रिस गर्छन् है,’ विवेक नेपालीले भने, ‘डलरमा कलर मिसाउने र फेसबुकमा भोट माग्नेलाई के थाहा गरिबको गन्हाउने रगत पसिनामा राष्ट्रियता मग्मगाउँछ, यसपटक भोट एमालेलाई ।’
०००
एमालेको छुकछुके रेल दौडिरहेको थियो । जहाँ पुग्थ्यो । कोही कोइला थपिदिन्थे । कोही पानी । अनि घडा राख्दै र फूलमालाले स्वागत गर्दै भन्थे, ‘यसपटक एमालेको छुकछुके रेल भरिभराउ हुनेछ ।’ समृद्धि र स्वाभिमानी मुलुक बनाउन सपना त देख्नु पर्छ पहिले ।
अनायास फेरि बुबा एकरात सपनीमा आउनु भयो र भन्नुभयो, ‘छोरी जसरी म खोलाको त्यो नीलो दहमा डुबेर माछा खोजेर ल्याउँथे, दुःख हुन्थ्यो, तर माछा भेट्दा सबै दुःख भुल्थेँ, त्यसैगरी देश अनेक कष्ट सहेर फेरि सुखको पिङ मच्चाउँदैछ । तिमी पनि बालिग भयौ । म सदस्य भएँ, आमा वडाध्यक्ष । यसपटक तिमी गाउँपालिकाको उपप्रमुख भएर एमालेको छुकछुके रेल अरु दौडाऊ ल ?’
झल्याँस्स ब्युझेँ । घाम डाँडामा आइसकेछ । गाउँभरि चुनाव प्रचार टोली हिँडिरहेका थिए । आमा चिया दिँदै भन्दै हुनुहुन्थ्यो, ‘उपाध्यक्षमा पार्टीले टिकट दिइसक्यो रे, सुतेर हुन्छ काली ?’ यसपटक मरेको मान्छेले बोलेको र जिउँदो मान्छेले बोलेको ठ्याक्कै मिल्यो । मैले दिशा बस्दा थूःथ्ः गर्नु परेन । किनभने एमालेको छुकछुके रेल दौडाउने जिम्मा हामी युवाको काँधमा आइसकेको थियो । हामी महिलाको काँधमा आइसकेको थियो । हामी अल्पसंख्यकको काँधमा आइसकेको थियो ।

हामी जनजातिको काँधमा आइसकेको थियो । एमालेको छुकछुके रेल धूँवा पुत्पुताउँदै अघि बढ्दा राइनासेहरु फेसबुकमा स्ट्याटस लेखेर बसिरहेका थिए । तर हामीलाई देश बनाउनु थियो । देश बनाउन जनताको साथ थियो । यसपटक एमालेको छुकछुके रेलमा जेष्ठ नागरिक खुशी थिए, युवा व्यापारी खुशी थिए । बेखुश तिनै थिए, जो योग्यता अनुसार काम र काम अनुसार ज्याला होइन, कुलघरानको जन्म र १२ वर्ष युद्ध लडेको अर्थात् हजुरबाले घिउ खाएले नातिको हत्केला पनि मगमगाइरहेको भ्रमित घमण्डको जामाले छोपिएका थिए । तर एमालेको छुकछुके रेल निकै अघि बढिसकेको थियो । उनीहरु भन्दै थिए, लौ रेल त छुट्यो । ती मनुवालाई के थाहा रेल होइन छुटेका त तिनीहरु पो हुन् ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula