काठेखोलाका ८ पहिचान : वाम उम्मेदवारकाे अभियान

प्रकाशित मिति :2017-05-07 15:15:27

बागलुङ ।

नेकपा एमाले बागलुङका सदस्य तथा काँठेखोला गाउँपालिकामा अध्यक्षका उमेदवार अम्मरबहादुर थापाले समृद्ध काठेखोला निर्माणका लागि आफ्नो नेतृत्वमा रहेको साझा उमेदवारहरुको प्यानललाई विजयी बनाउन आग्रह गर्नु भएको छ ।
काठेखोला गाउँपालिकामा संयुक्त बाम र राप्रपाको तर्फबाट चुनावी मैदान उत्रिएका अध्यक्षका उमेदवार थापाले आइतवार तंग्रामको फापरखेतमा आयोजित चुनावी सभामा बोल्दै यस्तो आव्हान गर्नु भएको हो ।
समृद्ध काँठेखोला गाउँपालिका लागि आफुहरुसंग स्पष्ट योजना रहेको दावी गर्दै उहाँले योजना कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक रहेको धारणा व्यक्त गर्नु भयो । उहाँले काठेखोलाका ८ वटा वडालाई ८ वटै पहिचानका रुपमा विकास गर्ने आफ्नो लक्ष्य समेत सार्वजनिक गर्नु भएको छ ।
वडा नं. १ लाई स्वास्थ्य, २ लाइ पर्यटन, ३ लाई कृषि, ४ मा जनजाती विशेष, ५ मा जेष्ठ नागरिक आश्रम, ६ मा प्राविधिक शिक्षा, ७ लाई खेलकूद र ८ लाई हाते कागज र जडिबुटीको विशेष क्षेत्रका रुमपा विकास गर्ने लक्ष्य सहितको कार्ययोजना थापाले प्रस्तुत गर्नु भएको छ ।
काठेखोलाको केन्द्रबाट सबै वडा कार्यालयसम्मको सडक कालोपत्रे गर्ने, कृषि, फलफूल खेती, पर्यटन प्रवद्र्धन लगायत समग्र काठेखोलाको विकासका योजना बताउदै उहाँले काम गर्ने अवसर दिन मतदाताहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा उपाध्यक्षका उमेदवार अर्जुन खत्रीले काठेखोलामा क्रियाशिल बामपन्थी र राप्रपा समेतको तालमेलले जनतामा उत्साह थपिएको बताउनुभयो । उहाँले विकास निर्माणको अगुवाई गर्दै आइरहेका बामपन्थीहरुको नेतृत्व स्थापित गर्न सबैको सहयोग र सद्भाव आवश्यक रहेको बताउनुभयो ।
उमेदवारहरुले तंग्रामको फापरखेत लगायतका क्षेत्रमा घरदैलो, भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् । आजै धम्जा गाविसमा चुनावी सभा सम्पन्न गरिने जनाइएको छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula