एमालेको घोषणापत्रमा कोरा सपना मात्रै कि वस्तुगत परिकल्पना ?

प्रकाशित मिति :2017-05-07 15:04:55

– तेजबहादुर ढकाल

नेकपा (एमाले) ले जारी गरेको घोषणपत्रलाई देखेर आत्तिएर अन्य दलका नेता तथा कार्यकर्ताहरूले यसलाई महत्वाकांक्षी, हावादारी वा सित्तैमा सपना बाँडेको भन्ने आरोप लगाउनु राजनीतिक भाषामा हारको मनस्थितिको उपज हो भन्नु अनुपयुक्त नहोला । तर नेकपा (एमाले) ले हावामा विकासका सपना बाँडेको होइन, समृद्ध नेपालको परिकल्पना पस्केको मात्र हो ।

कल्पना भनेको हावादारी कुरा होइन, यो त विज्ञान हो, जो विश्वविद्यालयमा इमाजिनियरिङ (Imagineering) विषयका रूपमा पढाइ हुने गर्दछ । यसमा एउटाले कल्पना (Imagine) गर्दछ भने अर्कोले यो कसरी सम्भव छ भनी तकनिक (Engineering)  प्रयोग गर्दछ । जस्तो कसैले चराजस्तै उड्न पाए कस्तो हुन्थ्यो भनी कल्पना गर्दछ । अर्कोले यो कसरी सम्भव हुन्छ भनी इन्जिन बनाउँदछ । त्यसलाई परीक्षण गर्दछ र अन्ततः चराजस्तै खुला आकाशमा हुरुरु उडाउँदछ । हो, उसले हावामै सास फेर्छ, हावामै कल्पना गर्छ, हावामै गफ गर्छ र हावामै प्लेन उडाउँदछ । जो कल्पना गर्दैन, ऊ कुम्भकर्णको जस्तो चिर निद्रामा मस्त हुन्छ । ऊ उठ्छ कि भन्दै कुर्दैमा कैयांै पुस्ताको जीवन बर्बाद हुन्छ । कल्पना गर्न र सपना देख्न पैसा तिर्नु नपरे पनि समय भने खर्च गर्नुपर्दछ । जसलाई समयभन्दा पैसाको महत्व हुन्छ, ऊ पैसाको पछि दौडन्छ । जसलाई पैसाभन्दा समय महँगो हुन्छ, उसैलाई समयको पनि महत्व हुन्छ । नेकपा (एमाले) सँग पैसाभन्दा समय अति महँगो हुने नेतृत्व छ, जसको प्रेरणा मात्रले पनि कम्तीमा एक पुस्ताका लागि सम्पूर्ण कार्यकर्ताहरूमा ऊर्जा भरिदिएको छ । यही ऊर्जाले नै देशलाई हाम्रै पालामा समृद्धिको शिखरमा पु¥याउने अठोटका साथ एकताबद्ध भएर जसरी पनि बहुमतसहितको पहिलो पार्टी बनाउन चुनावी मैदानमा होमिनु जरुरी छ ।

राजनीतिक अधिकार प्राप्तिको कालखण्ड सकिएकाले अब मुलुकलाई समृद्धि प्राप्तिको लडाइँमा लैजानु जरुरी छ । नेकपा (एमाले) को नवौं महाधिवेशनको दिशानिर्देशलाई पालना गर्दै अब हामीले सामाजिक आर्थिक रूपान्तरण र समृद्ध नेपाल निर्माणको अग्रणी शक्ति र अभियन्ताका रूपमा स्थापित गर्नुपर्ने छ । शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिहरूलाई संस्थागत गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गर्नुपर्नेछ । साथै लोकतन्त्रको नेताका रूपमा स्थापित पार्टी अब समृद्धिको अगुवाका रूपमा स्थापित गर्दै हामीले २०८० सालसम्ममा नेपाललाई अल्पविकसित राष्ट्रको दर्जाबाट विकासशील राष्ट्रको दर्जाबाट पु¥याउने र एकाइसौं शताब्दीको अन्त्यसम्ममा नेपाल संसारका मध्यम विकसित तथा समृद्ध राष्ट्रहरूको दाँजोमा स्थापित गर्ने लक्षका साथ अहिलेको घोषणापत्र तयार गरिएको छ ।

सामान्यतया समृद्धि भनेको अधिक क्रयशक्ति र न्यून बेरोजगारीको अवस्थालाई बुझाउने भए तापनि अधिकांशले आम्दानीलाई नै मुख्य सूचकका रूपमा लिने गरेको पाइन्छ । समृद्धि पुँजीवादीहरूका लागि सम्पन्नता मात्र हो भने समाजवादीहरूका लागि समानता पनि हो । यो केवल कोरा समृद्धि मात्र नभई साझा समृद्धि हो । जनताको बहुदलीय जनवादलाई मार्गदर्शक राजनीतिक सिद्धान्त मान्ने नेकपा (एमाले) को भाषामा समृद्धि भनेको जनताको समृद्धि नै हो । नेकपा (एमाले) को नवौं महाधिवेशनले राजनीतिक अधिकार प्राप्ति पछि ‘सुखी नेपाली ः समृद्ध नेपाल’ भन्ने नाराका साथ समृद्धि प्राप्तिको आन्दोलनमा लाग्न दिशानिर्देश गरेको छ । समृद्धिका पाँच अंगमध्ये सुखी नेपाली भनेको जनताको जीवनस्तर ९त्तगबष्तिथ या ीषभ० नै हो, जसमा स्वास्थ्य, धनसम्पत्ति र सुरक्षा पर्दछन् । स्वास्थ्यमा पोषण, पाँच वर्षमुनिको मृत्युदर र औसत आयुजस्ता सूचकांकहरू पर्दछन् भने धनसम्पत्तिमा प्रतिव्यक्ति आय, भौतिक अवस्था र उपभोगजस्ता कुरा पर्दछन् । उता, सुरक्षामा भने भौतिक सुरक्षा, सामाजिक सुरक्षा र प्राकृतिक वा वातावरणीय सुरक्षा पर्दछन् । समृद्ध नेपाल भन्नासाथ भौतिक पूर्वाधार, मानवीय पुँजी, जीवनस्तर, सुशासन र वातावरणीय दिगोपनलाई समग्र रूपमा बुझ्नुपर्दछ । नेकपा (एमाले) को घोषणपत्रमा यी सबै कुराहरू समेटिएका छन् ।
जसरी एउटा बच्चा १८ वर्षसम्म हलक्क बढ्दछ, त्यसरी नै गरिब तथा अल्पविकसित देशहरूको अर्थतन्त्र पनि एउटा निश्चित अवधिसम्म निरन्तर उच्च दरमा वृद्धि हुन सक्छ । हाम्रो देशको अर्थतन्त्र पनि खास मानेमा वृद्धिमै गएको छैन । यसलाई १० वर्षसम्म दोहोरो अंकमा वृद्धि गर्न सकिन्छ । यसका लागि हामीसँग आवश्यक मानवीय स्रोत र प्रचुर प्राकृतिक सम्पदा छ । यसका लागि स्थायी सरकार र दूरदर्शी नेतृत्वको खाँचो छ, जसलाई अहिलेको सन्दर्भमा नेकपा (एमाले) ले मात्र पूरा गर्न सक्दछ ।

जब कुनै पनि मोटो व्यक्ति डाक्टरकोमा जान्छ, डाक्टरले उसलाई उसको तौल घटाउन वा वेट लुज गर्ने सुझाव दिन्छ । तर, त्यही मोटो मान्छे जब कुनै मेनेजरकोमा जान्छ, उसले उसको तौललाई प्रयोग गर्न वा युज गर्ने सल्लाह दिन्छ । किनभने बोसो त इनर्जी पनि हो, जसका सहयोगले ऊ घण्टौंसम्म भोकै पनि काम गर्न सक्छ । यदि उसभित्र असन्तोष वा केही गरौं भन्ने भावना छ, उसले थप ऊर्जाका साथ काम गर्न सक्छ । त्यसैगरी, यदि कुनै पनि शोषितपीडित र न्यायप्रेमी व्यक्ति सही पार्टी वा नेताकहाँ जान्छ, उसले त्यही ऊर्जा अन्यायअत्याचारविरुद्ध लड्न र विकास तथा समृद्धिका लागि प्रयोग गर्न प्रेरित गर्दछ । नेकपा (एमाले) ले अहिले गरेको पनि त्यति मात्र हो ।

एमालेको घोषणपत्रमा हेलिप्याड र विमानस्थलदेखि प्रशान्त महासागरमा राष्ट्रिय ध्वजावाहक पानीजहाज चलाउनेसम्म र अत्याधुनिक प्रसूति तथा शिशुकल्याण केन्द्रदेखि प्रदूषणमुक्त शवदाहगृहसम्मका कार्यक्रमहरू समेटिएका छन् । प्रतिव्यक्ति आयदेखि सामाजिक सुरक्षा भत्तालाई बढाउने घोषणालाई देखेर कसैले आत्तिनुपर्दैन । राज्यले जति खर्च ग¥यो, उति अर्थतन्त्रमा गुणात्मक प्रभाव पर्दै जान्छ । जब राज्यले ऋण काढेर भए पनि खर्च गर्दछ, त्यो पैसा जनताको गोजीमा जान्छ । उनीहरूले केही बचत गरी बाँकी खर्च गर्दछन् । जब जनताले खर्च गर्दछन्, बजारमा माग बढ्दछ । जब बजारमा माग बढ्दछ, यसले रोजगारीको सिर्जना गर्दछ । यसरी अर्थतन्त्र चलायमान हुन्छ । विभिन्न स्थानमा स्मार्ट सिटी, रेलवे तथा केबलकार र पूर्व–पश्चिम तथा उत्तर–दक्षिण राजमार्गद्वारा जनताको पहँुचमा वृद्धि गरी समृद्धिको ढोका खोल्ने योजना आफंैमा आवश्यक र सम्भव दुवै छ ।

कृषिको व्यवसायीकरण, औद्योगीकरण, पर्यटन तथा जलविद्युत्लाई आर्थिक वृद्धिको इन्जिनका रूपमा अंगीकार गर्नु वस्तुपरक पनि छ । औपचारिक शिक्षा र प्राविधिक शिक्षालाई तल्लो तहसम्म पु¥याएर निरक्षरता उन्मूलन र रोजगारी तथा अवसरमा वृद्धि गर्ने योजना आफंैमा सराहनीय छ भने स्वास्थ्य, खेलकुद तथा मनोरञ्जनलाई सँगसँगै लागू गर्दै बालमृत्यु दरमा कमी र औसत आयुमा वृद्धि गर्ने लक्ष्य लिइएको छ । साथै वातावरणीय दिगोपनलाई पनि आवश्यक सर्तका रूपमा सम्बोधन गरिएको छ, जसमा स्वच्छ हावा, सुरक्षित पिउने पानी र जैविक विविधताको संरक्षणजस्ता कार्यक्रमहरू समेटिएका छन् । जनतालाई सुशासनको प्रत्याभूति दिलाउन आवधिक निर्वाचन, राजनीतिक सहभागिता र राजनीतिक स्थायित्व कायम गर्ने प्रतिबद्धताका साथै जिम्मेबार तथा जवाफदेही सरकार, व्यक्तिगत सम्पत्तिको रक्षा, भ्रष्टाचार नियन्त्रण तथा हुलदंगा र द्वन्द्वरहित अवस्थाको सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

त्यसैले, नेकपा (एमाले) ले आफ्नो घोषणापत्रमा विकास तथा समृद्धिका परिकल्पनाहरूलाई दूरदृष्टिका साथ समष्टिगत रूपमा योजनाबद्ध किसिमले पस्केको छ । दूरदृष्टि भनेको दीर्घकालीन सोच वा योजना हो । यो त क्षितिजभन्दा पारिको कुरा हो । यदि कसैले काठमाडौमा बसेर पनि नगरकोटभन्दा पारी कुनै संसार छैन र कसैले छ भन्छ भने हावादारी कुरा हो भन्दछ भने यो राजनीतिक पूर्वाग्रह र हारको मनस्थितिसिवाय केही होइन । अहिले नेकपा (एमाले) सँग कल्पना गर्न सक्ने र मूच्र्छित सपनाहरूलाई ब्यँुताउन सक्ने नेता, त्यसलाई नीति तथा कार्यक्रममा ढाल्न सक्ने विज्ञ र कार्यक्रमहरूलाई जबर्जस्त लागू गर्न सक्ने संगठन र यसका अनुशासित कार्यकर्ताहरू छन् । यसका जगमा बसेर कसैको बहकाव र द्विविधामा नपरेर हामीले आगामी निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गर्दै राष्ट्रनिर्माणमा लाग्नु जरुरी छ ।

अन्त्यमा, राजनीति सधैं चलायमान हुन्छ । राजनीतिक अस्थिरता र कुनै पनि पार्टीको स्पष्ट बहुमत नभएको अवस्थामा गठबन्धन पनि समय परिस्थितिअनुसार चलायमान हुन्छ । हामीले स्थायी शत्रुका कुरा गरेर मात्र हुँदैन । कहिलेकाहीँ शत्रुको शत्रुसँग पनि मित्रता कायम गर्नुपर्ने अवस्था आउन सक्छ । अहिलेको जस्तो देशीविदेशीको संयुक्त गठबन्धनले घेराबन्दी गरेको अवस्थामा हामीले हाम्रो राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय एकतालाई बचाउन तत्कालको एजेन्डाका आधारमा नयाँ गठबन्धनको विकास गर्दै निर्वाचनमा विजय हासिल गर्नु जरुरी छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula