‘व्यास नगरपालिकालाई उत्कृष्ट र प्रविधिमैत्री बनाउँछु’

प्रकाशित मिति :2017-05-06 22:37:47

तनहुँको व्यास नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) बाट उम्मेदवारी दर्ता गराएका शंकरनारायण श्रेष्ठले व्यास नगरपालिकालाई उत्कृष्ट र प्रविधिमैत्री बनाउने दाबी गरेका छन् ।

उम्मेदवारी दर्तापश्चात् पत्रकारहरूसँग कुरा गर्दै उम्मेदवार श्रेष्ठले पाँच वर्षमा व्यास नगरपालिकालाई समृद्धिको बाटोतर्फ उन्मुख गराउने आफूले योजना बनाएको बताएका छन् ।
व्यास नगरपालिकालाई समृद्धितर्फ अगाडि बढाउन महत्वाकांक्षी चुनावी घोषणापत्रसमेत तयार पारेर चुनावी मैदान उत्रिएका श्रेष्ठले १० देखि २५ हजार युवालाई स्वरोजगारको वातावरण सिर्जना गर्नुका साथै नगर क्षेत्रका बासिन्दालाई व्यास नगरपालिकाको कुनै न कुनै भूमिकामा रहने गरी योजना बनाएको बताए ।

‘अरूलाई हे¥यौ धेरैपटक, यसपटक हामी तपाईंलाई हेर्छाैं भनी नगरवासीले अगाडि बढ्न मलाई उत्प्रेणा दिइएका छन्’ भन्दै उम्मेदवार श्रेष्ठले भने, ‘सबैले श्रम गरी उत्पादन बढाउनुपर्छ भन्ने मान्यताका साथ कृषि, पर्यटन क्षेत्रको प्रवद्र्धन, प्राकृतिक स्रोतसाधनको उचित उपयोग तथा व्यवस्थान गरी नगरलाई समृद्धिको बाटोतर्फ अगाडि बढाउँछु ।’
उम्मेदवार श्रेष्ठले आफूले नगर प्रमुखमा विजयी भए नगरपालिकाको आमूल परिवर्तन गर्ने दृष्टिकोण र योजनाहरू आफूसँग भएको बताउँदै उनले विगतदेखि नै यो क्षेत्रमा नेपाली कांग्रेसले जित हासिल गरे पनि कुनै नयाँपन र परिवर्तनको आभास दिलाउन नसकेको बताए ।

बैंक तथा वित्तीय संस्थाले भौतिक सम्पत्तिलाई हेरेर मात्र लगानी गर्ने हुँदा सम्पन्न व्यक्तिले मात्र बैकको सेवासुविधा पाउने तर निम्न स्तरका जनता सधैं तल परिरहने भएको हुँदा त्यसको अन्त्य गरी पाखुरा हेरेर बैंकले लगानी गर्ने वातावरण बनाउन आफू लागिपर्नेसमेत प्रतिबद्धता जनाएका छन् ।

उम्मेदवार श्रेष्ठले तनहुँ हाइड्रोपावरमा स्थानीय जनताको अनिवार्य लगानीको वातावरण बनाउने, मादी नदीको भरपुर उपयोग गरी सिँचाइ गर्ने, त्यसबाट उत्पादनको वृद्धि गर्ने, युवालाई उत्पादनमा जोड दिने, घरघरमा रोजगारीको अवसर सिर्जना गर्ने, प्रत्येक नेपालीले श्रम गर्नुपर्दछ भन्ने भावनाको विकास गराउने, युवा लक्षित कार्यक्रमहरू निर्माण गर्नेलगायतका योजनाहरू आफूसँग रहेको बताए ।

– नारायण खड्का

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula