सुरक्षा प्रबन्धबारे एमालेद्वारा ध्यानाकर्षण

प्रकाशित मिति :2017-05-06 21:57:02

काठमाडौँ ।

नेकपा एमालेले स्थानीय तह निर्वाचनका सन्दर्भमा भइरहेको सुरक्षा प्रबन्धका बारेमा सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिनुका साथै निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुदृढ र भरपर्दो सुरक्षा प्रबन्ध मिलाउन ध्यानाकर्षण गराएको छ ।
महासचिव ईश्वर पोखरेलको नेतृत्वको एमालेको प्रतिनिधिमण्डलले गृहसचिव लोकदर्शन रेग्मी र तीनवटै सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी) का प्रमुखसँग शुक्रबार निर्वाचनका सन्दर्भमा हुनसक्ने हिंसात्मक घटना, सुरक्षा अंगको सम्भावित दुरूपयोगलगायतका विषयमा गम्भीर ध्यानाकर्षण गराएको हो ।
स्थानीय तह निर्वाचनमा प्रभावकारी सुरक्षा प्रबन्धका लागि मुख्यगरी पाँचवटा विषयमा आफ्नो पार्टीले सुरक्षा निकायलाई ध्यानाकर्षण गराएको एमालेका सचिवालय सचिव तथा नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
एमालेले निर्वाचनमा सरकार र सत्तामा रहेका दलद्वारा हुनसक्ने प्रहरी प्रशासनको दुरूपयोग, सत्ताको आडमा विपक्षीविरुद्ध लगाइनसक्ने झुठा मुद्दा र म्यादी प्रहरीको दुरूपयोग जस्ता विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ ।
त्यस्तै, एमालेले पहिलो चरणको निर्वाचनको मतदान सकिएपछि दोस्रो चरणको निर्वाचन एक महिनापछि मात्र राखिएकाले त्यस अवधिमा पहिलो चरणको निर्वाचनका मतपेटिकाको सुरक्षा कसरी गर्ने योजना छ भन्ने विषयमा पनि गम्भीर चासो व्यक्त गरेको छ ।
निर्वाचन बिथोल्न चाहने समूहका हिंसात्मक गतिविधि, परम्परागत अपराध, गुण्डागर्दी र साना हतियार व्यवस्थापन जस्ता विषयमा पनि एमालेले सुरक्षा निकायलाई ध्यानाकर्षण गरायो ।
निर्वाचनका सन्दर्भमा प्रबन्ध गरिने सुरक्षाका बारेमा एमालेले गराएको ध्यानाकर्षणका विषयले प्रभावकारी सुरक्षा व्यवस्थाका लागि थप सहयोग र हौसला मिलेको बताउँदै गृह सचिव रेग्मी र सुरक्षा निकायका प्रमुखले सबै विषयप्रति आफूहरू गम्भीर रहेको बताउनुभयो ।
निर्वाचनको सुरक्षा प्रबन्ध मिलाउँदा निर्वाचन आयोगको समेत सल्लाहमा गरिएको जानकारी त्यस क्रममा एमालेको प्रतिनिधिमण्डललाई गराइयो ।
निर्वाचन शान्तिपूर्ण र निर्भयका साथ सम्पन्न गर्न तीन तहको सुरक्षा व्यवस्था गरिएको जानकारी गराउँदै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनमा प्रहरी प्रशासन दुरूपयोग हुन नपाओस् भनी मातहतका निकायलाई सतर्क गराइएको बताउनुभएको एमाले सचिव ज्ञवालीले जानकारी दिनुभयो ।
सुरक्षा निकायका प्रमुखहरूलाई भेट्न महासचिव पोखरेलको नेतृत्वमा सचिवालय सचिव प्रदीप ज्ञवाली, पोलिटव्युरो सदस्य राजेन्द्र पाण्डे र कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ गृहमन्त्रालय जानुभएको थियो ।
भेटमा गृह सचिव रेग्मीका साथै तीनवटै सुरक्षा निकायका प्रमुख र गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका प्रमुख बालकृष्ण पन्थी सहभागी हुनुहुन्थ्यो ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula