नेपाली र नेपाल भाषा : महानगरको कामकाजको भाषा

प्रकाशित मिति :2017-05-06 21:54:54


काठमाडौँ ।

नेकपा (एमाले) का काठमाडौँ महानगरपालिकाका प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले नेपाली र नेपाल भाषालाई महानगरको कामकाजको भाषाका रुपमा प्रचलनमा ल्याउने कार्ययोजना अघि सार्नुभएको छ ।
उहाँले नेपालको मौलिक सम्वतको रुपमा रहेको नेपाल सम्वतलाई पनि प्रचलनमा ल्याइने प्रतिवद्धता जनाउनुभएको छ । प्रमुखका उम्मेदवार शाक्यको संस्कृति र सम्पदासम्बन्धी प्रतिवद्धतामा वसन्तपुर दरबार क्षेत्र र त्यसको वरिपरिको भित्री सहरी क्षेत्रलाई समेटेर सांस्कृतिक पर्यटकीय सहरको विकास गरिने उल्लेख छ ।
यस्तै नेपालको मौलिक लिपीको रुपमा संयुक्त राष्ट्रसंघमा दर्ता भएको रञ्जना लिपिको विकास र प्रयोगलाई प्रोत्साहन गरिने,राष्ट्रिय पुनः निर्माण प्राधिकरण र स्थानीय जनतासँगको सहकार्यमा भूकम्पबाट ध्वस्त भएका पुरातात्विक सम्पदा, मठ, मन्दिर, पाटी, पौवालगायतका सांस्कृतिक सम्पदाको यथाशीघ्र पुनः निर्माण गरिने कुरा प्रतिवद्धतामा उल्लेख छ ।
यस्तै स्थानीय समुदायका जात्रा, पर्व र अन्य सांस्कृतिक क्रियाकलापको लिखित संग्रहालयका रुपमा संरक्षण र विकास गरिने, महानगर क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा, सत्तल, पाटी, पौवा, मठमन्दिर आदिको संरक्षण गरिने उहाँको प्रतिवद्धता छ ।
काठमाडौँ उपत्यकाको सम्पदाका रुपमा रहेका वाग्मती, विष्णुमती, मनहरा, धोवीखोलालगायतका नदीलाई अतिक्रमणमुक्त गरी सफा र सुन्दर बनाइने, नदी किनारमा ग्रिनवेल्टको निर्माण गरिने र महानगरस्तरीय सांस्कृतिक संग्रहालयको निर्माण गरिने शाक्यको प्रतिवद्धता छ ।
महानगर क्षेत्रभित्र रहेका ऐतिहासिक पोखरी, धाराको संरक्षण र विकास गरिनेछ । भाषा, साहित्य, कला र संस्कृतिको प्रवद्र्धन गर्न महानगर साहित्य पुरस्कारको स्थापना गरिनेछ । टोल टोलमा रहेका भजन मण्डली र सांस्कृतिक समूहलाई संरक्षण गरिने उहाँको प्रतिवद्धता छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula