मानबहादुर र मञ्जु मत माग्न व्यस्त

प्रकाशित मिति :2017-05-06 21:29:08


पोखरा

पोखरा महानगरपालिकामा नेकपा (एमाले) बाट मेयर, उपमेयर, वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारहरू जनतासँग मत माग्न व्यस्त छन् । वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा आफ्नो पक्षमा जनमत बनाउन उम्मेदवारसहित एमालेका नेता–कार्यकर्ता चुनावी प्रचारमा जुटेका छन् । विभिन्न वडाले घरदैलो, ¥याली, कोणसभा गरिरहेका छन् भने मेयर मानबहादुर जीसी र उपमेयर मञ्जुदेवी गुरुङले चुनावी तालिका बनाएर भोट माग्न व्यस्त छन् । शुक्रबार उनीहरूले वडा नम्बर ३, ११, १२, १३ र १४ वडामा पुगेर एमालेलाई जिताउन आग्रह गरेका छन् ।

पोखरा लेखनाथ महानगरपालिकामा नेकपा (एमाले) का मेयर पदका उम्मेदवार मानबहादुर जीसीले आफू पोखराको विकास र समृद्धिका लागि समर्पित भएको बताएका छन् । ‘पहिला पनि पोखराको विकासका लागि पहल गरेकै थिएँ,’ उनले भने, ‘मेयरमा विजयी भएपछि योजनाअनुसार विकास गर्नेछु ।’ नयाँ महानगरपालिकालाई नेपालमै उदाहरणीय महानगरपालिका बनाउने जीसीले बताए । ‘हाम्रो महानगरपालिका सबैभन्दा ठूलो हो,’ उनले भने, ‘समानुपातिक विकास योजना तय गरेर उत्कृष्ट महानगरपालिका बनाउनेछु ।’
जीसीले महानगरको विकासका लागि नेकपा (एमाले) लाई विजयी गराउन आग्रह गरे । एमालेले देख्दै आएको सपना सबै मिलेर साकार गर्नुपर्ने उनले बताए । ‘समृद्ध देश र सुखी जनताको नारालाई साकार पार्न म कटिबद्ध भएर लाग्नेछु,’ उनले भने, ‘महानगरपालिका राम्रो बनाउने जिम्मा हाम्रो काँधमा छ ।’ आफू मेयरमा विजयी भए उनले पार्टीले तयार पारेको पोखरा महानगरपालिकाको घोषणापत्रमा समेटिएका विषय र योजनालाई अक्षरशः लागू गराउने प्रतिबद्धता व्यक्त गरे ।

एमालेबाट उपमेयरका उम्मेदवार मञ्जुदेवी गुरुङले विकाससँगै महिला र बालमैत्री समाज निर्माण गर्न अगुवाइ गर्ने प्रतिबद्धता जनाइन् । ‘महिला, बालबालिका, युवा सबैलाई समेटेर विकासमा लाग्नेछु,’ उनले भनिन्, ‘म महानगरको विकासका लागि कुनै कसर बाँकी राख्नेछैन ।’ चुनावी प्रचार अभियानमा नेकपा (एमाले) का नेताहरू गणेश तिमिल्सेना, रवीन्द्र अधिकारी, खगराज अधिकारी, चूडामणि जंगली, श्रीनाथ बराललगायतका नेताहरू पनि उम्मेदवारसँग सहभागी छन् ।

मेयर र उपमेयरका उम्मेदवार जीसी र गुरुङसँगै प्रत्येक वडाका अध्यक्ष र कार्यकता चुनावी प्रचारप्रसारका लागि घरदैलोमा सहभागी थिए । वडा नम्बर ३ मा अध्यक्षका उम्मेदवार शशीधर पराजुली, ११ नम्बरका देवेन्द्र बास्तोला, १२ नम्बरका ऋषिराम लामिछाने, १३ नम्बरका दर्शन लामा र १४ नम्बरका प्रेमबहादुर कार्की र वडा सदस्यहरू चुनाव प्रचारप्रसारका लागि घरदैलोमा छन् । जीसी र गुरुङले शनिबार पोखराका वडा नम्बर २६, २७, २९, ३० र ३१ मा घरदैलो कार्यक्रम गर्नेछन् । उनीहरूसँगै सम्बन्धित वडा अध्यक्षका उम्मेदवार, सदस्यका उम्मेदवारहरू र नेता–कार्यकर्ता पनि प्रचारप्रसारमा हिँड्नेछन् ।

पोखरामा १४ एमालेको चुनावी ¥याली

नेकपा (एमाले) पोखरा १४ निर्वाचन परिचालन कमिटीले चुनावी प्रचार अभियानलाई तीव्रता दिएको छ । बिहीबार पाँच वटा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको एमालेले शुक्रबार मेयर, उपमेयर, वडाअध्यक्ष र सदस्यका उम्मेदवारसहित ¥याली गरेको हो ।

कालिका क्याम्पस अगाडिबाट सुरु भएको ¥याली वीरेन्द्रचोक, भेडीफारम, छिनेडाँडा, मझेरीपाटन, भोटे चौतारा, बिरौटा, बेलचौतारा, चाउथे, कुँडहर, खसीबजार चोक हुँदै स्वागत नगरको निर्वाचन परिचालन कमिटीको कार्यालयमा पुगेर समापन भएको थियो । ¥यालीमा सयौंको संख्यामा मोटरसाइकल, कारलगायत सहभागी थिए ।
पोखरा लेखनाथ महानगरपालिकामा नेकपा (एमाले) बाट मेयरको उम्मेदवार मानबहादुर जीसी, उपमेयर मञ्जुदेवी गुरुङ, वडाध्यक्ष प्रेमबहादुर कार्कीलगायतले उम्मेदवारहरूले हात हल्लाउँदै स्थानीयवासीलाई अभिवादन गरेका थिए ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula