रसुवाका सबै गाउँपालिकामा एमाले निश्चित

प्रकाशित मिति :2017-05-06 18:22:57

रसुवा

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा रसुवाका पाँच वटै गाउँपालिकामा नेकपा (एमाले) को जितको सम्भावना बढ्दै गएको छ ।
विभिन्न गाउँपालिकामा चुनावी अभियानसँगै भिन्न पार्टीबाट एमालेमा प्रवेश गर्नेको जनलहर बढ्दै गएपछि पाँचवटै गाउँपालिकामा जितको सम्भावना बढ्दै गएको एमालेका केन्द्रीय सदस्य माधव अर्यालले बताउनुभयो ।
रसुवामा १३ हजार ९६५ पुरूष मतदाता र १३ हजार ७९१ महिला मतदाता गरी जम्मा मतदाता २७ हजार ७५६ रहेका छन् ।

एमालेमा ओइरो, अरू पार्टीमा पहिरो
चुनावी अभियान सञ्चालन गर्नु भन्दा पहिले नै रसुवामा अन्य पार्टीबाट एमालेमा आबद्ध हुने वा प्रवेश गर्नेको जनलहर बढ्दै गएको छ ।
काठमाण्डौं केन्द्रीय कार्यालय र रसुवाका विभिन्न स्थानमा सञ्चालन भएका कार्यक्रममा हालसम्म अन्य पार्टीबाट प्रवेश गर्नेको संख्या ६२३ पुगेको छ । नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र नयाँशक्ति पार्टीबाट थुप्रै संख्यामा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । नेकपा (एमाले) सिद्धान्त र पद्दतिमा चलेको छ भन्दै यहाँ प्रवेश गर्नेको संख्या बढेको छ ।
नयाँशक्ति नेपालले शेयरको नाममा भ्रम छर्दै रकम असुलेको र जनतालाई झुक्याएको कारण पनि नयाँशक्तिका कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

एमालेका को को छन् पालिका प्रमुखका उम्मेदवार ?
नेकपा (एमाले) ले रसुवाका विभिन्न गाउँपालिका र वडामा कार्यकर्ताको मनोभावना र जनमत अनुसारका नेतालाई उम्मेदवार बनाएको छ । उत्तरगया गाउँपालिकाको प्रमुखमा अशोक घिमिरेको उम्मेदवारी रहेको छ । घिमिरेले लामो समयदेखि नेकपा एमालेको संगठनमा रहेर काम गरिसक्नु भएको छ ।
राजनीतिमा नै लगभग सबै जीवन अर्पेका घिमिरे शिक्षण पेशाबाट राजनीतिमा आउनुभएको हो । वडा कमिटिदेखि, गाउँ कमिटि, भेगीय कमिटि, जिल्ला कमिटिहुँदै अञ्चल कमिटिमा रहेर कुशलतापूर्वक काम गरेका घिमिरे हाल प्रदेश नं। ३ का सदस्य पनि हुनुहुन्छ ।
त्यस्तै, गोसाइँकुण्ड गाउँपालिकाका प्रमुखमा कैसाङनुर्बु तामाङको उम्मेदवारी रहेको छ । मानेकोर सोसाइटी नामक गैरसरकारी संस्थाबाट आफ्नो सामाजिक छवि बनाएका तामाङ उद्योग वाणिज्य महासंघ रसुवाका अध्यक्ष पनि हुन् ।
विशेषगरी महिला तथा जनजातिको उत्थानका लागि अहोरात्र खटिएका तामाङको त्यस गाउँपालिका प्रमुखमा जीत हुने पक्कापक्की छ । माथिल्लो भेगका महिलालाई मञ्चमा उभिएर बोल्नसक्ने बनाउने व्यक्तिको नाममा उनको नाम सधैँ जोडिएर आउनेगर्छ । विकासको खाका बनाउनसक्ने र योजना ल्याउनसक्ने नेताको रूपमा पनि चिनिन्छन् उनी ।
पार्वतीकुण्ड गाउँपालिकाको प्रमुख पदको उम्मेदवारमा नेकपा एमालेले लाक्पागोम्बो तामाङलाई उठाएको छ । पर्यटन व्यावसाय र नेपाल–चीन व्यापारसमेत गरिरहेका तामाङ मृदुभाषी छन् ।
कालिका गाउँपालिकाको प्रमुखमा एमालेले सीतादेवी पौडेल अधिकारी लाई उठाएको छ । उनी रसुवाकै सक्रिय महिलामध्येकी एक हुन् ।
रसुवामा गाउँपालिका प्रमुखका रूपमा अन्तिम चुनावी मैदानमा पुगेकी उनीमात्र एक हुन् । माओवादी केन्द्रले दुई गाउँपालिकामा महिलालाई प्रमुखको उम्मेदवार बनाए पनि अहिले उम्मेदवारी फिर्ता गराएको छ ।
त्यस्तै, नवकुण्ड गाउँपालिका प्रमुखका उम्मेदवार म्लाङ्दुङ मोक्तान (विकास) रहेका छन् । विकासप्रेमी नेताको रूपमा स्थापित मोक्तानका पक्षमा जनमत क्रमशस् बढ्दै गएको छ ।
नवकुण्ड गाउँपालिकालाई जडिबुटी, विद्युत विकास र पर्यटन विकासको माध्यमबाट समृद्ध बनाउने सपनासहित चुनावी मैदानमा होमिएका छन् मोक्तान ।
नेकपा (एमाले) ले उत्तरगया गाउँपालिकाको उपप्रमुखमा चमेली गुरूङ, गोसाइँकुण्ड गाउँपालिकाको उपप्रमुखमा करग्याल्मो श्रेष्ठ, पार्वतीकुण्डमा नवीना तामाङ, कालिकामा भवानीप्रसाद न्यौपाने र नवकुण्डमा सिर्जना लामालाई उम्मेदवार बनाएको छ ।
अरू साँठगाँठमा, एमाले एक्लै भिड्दै
रसुवाका विभिन्न गाउँपालिकामा एमालेको जनलहर बढेपछि निराशहुँदै माओवादी केन्द्र र नेपाली काङ्ग्रेसले चुनावी साँठगाँठ गरेका छन् । गोसाइँकुण्ड र नवकुण्ड गाउँपालिकामा एमाओवादीले प्रमुखको उम्मेदवार बनाएको छैन भने नेपाली काङ्ग्रेसले उपप्रमुखको उम्मेदवार बनाएको छैन ।
अरू गाउँपालिका पनि एमाओवादी र काङ्ग्रेसको साँठगाँठ हुनसक्ने बताइएको छ । कुनै कुनै वडामा नेपाली काङ्ग्रेस र नयाँशक्तिबीच पनि तालमेल हुनसक्ने बुझिएको छ । यस्तो अवस्थामा एमालेले एक्लै भिड्दा पनि जीत सुनिश्चित भएको सबै गाउँपालिकाका प्रमुख पदका उम्मेदवार बताउँछन् ।
एमालेले तीन उम्मेदवार निर्विरोध गर्दै रसुवामा खाता खोल्यो
नेकपा (एमाले) गोसाइँकुण्ड गाउँपालिका वडा नं ४ का खुल्ला सदस्य पदका उम्मेदवार छिरिङफिन्जो लोप्चन र ङेरूपछिरिङ तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, पार्वतीकुण्ड गाउँपालिका वडा नं १ की दलित महिला सदस्य पदकी उम्मेदवार जुरेली कामिनी निर्विरोध निर्वाचित भएकी छिन् ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula