थापाको सपना- स्वच्छ सफा हराभरा : कागेश्वरी मनोहरा

प्रकाशित मिति :2017-05-06 17:27:11

काठमाडौं

कागेश्वरी मनोहरा नगरपालिकामा एमालेका तर्फबाट प्रमुख (मेयर) का उम्मेदवार कृष्णहरि थापा स्वच्छ सफा हराभरा नगर बनाउने संकल्पसहित चुनावी प्रचार अभियानमा सक्रिय बनेका छन् । उनको चुनावी मूल नारा छ– स्वच्छ, सफा हराभरा : कागेश्वरी मनोहरा ।

शालीनदीको ऐतिहासिक पक्ष जोडिएको शंखरापुर नगर र कागेश्वरीदेखि विश्वसम्पदा सूचीको पशुपतिनाथ मन्दिरसम्म सीमा जोडिएको कागेश्वरी–मनोहराको ऐतिहासिक र सांस्कृतिक पक्षलाई संवद्र्धन गर्दै समृद्ध नगर बनाउने योजना विजयी बनेर साकार पार्ने थापाले बताए । ‘हामी आन्तरिक एकता बलियो र सुदृढ बनाउँदै सक्रियताका साथ चुनावी अभियानमा अघि बढेका छौं,’ थापाले भने, ‘एमालेले कागेश्वरीको विकासमा गर्दै आएको अगुवाइ नै जित सुनिश्चितको पहिलो आधार हो, त्यसैले विजयी बनेर समृद्ध नगर बनाउने योजना साकार पार्नेछु ।’

२७ हजार ५ सय ४ जना मतदाता रहेको कागेश्वरीको पहिचान उजागर गर्दै समृद्ध बनाउने योजनासहित थापाले गागलफेदीबाट चुनावी घरदैलो र प्रचार अभियान सुरु गरेका हुन् ।
२०५४ सालको स्थानीय निर्वाचनमा युवा उमेरमै काठमाडौंको पूर्वी उत्तर गाविस गोठाटारको गाविस अध्यक्ष निर्वाचित थापाले कागेश्वरी मनोहरा नगरलाई समृद्ध बनाउन दर्जनौं योजना प्रतिबद्धतापत्रमार्फत सार्वजनिक गरेका छन् ।

जननेता मदन भण्डारीदेखि लोकप्रिय मुलुकको पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको बिरासतसँग जोडिएकाले मात्रै होइन, एमालेको सही दृष्टिकोण र विकास तथा समृद्धिको सुस्पष्ट योजनाका कारण कागेश्वरी–मनोहराका जनताले एमालेलाई विजयी बनाउनेमा उनी विश्वस्त देखिन्छन् ।

गागलफेदी, भद्रवास, आलापोट, डाँछी, मूलपानी, गोठाटार (साबिकका ६ वटा गाविस) मिलेर नौ वटा वडा रहेको कागेश्वरीमा एमालेले सन्तुलित विकासको नीति अघि सारेको छ । भूकम्पको जोखिमरहित भवन निर्माण, सरकारी जग्गाको समुचित व्यवस्थापन र उपयोग, सडक, पूर्वाधार विकास, ढल निकास र खानेपानी व्यवस्थापन, भ्रष्टाचारमुक्त सुशासन, सामुदायिक क्याम्पस र सरकारी विद्यालयहरूको स्तरोन्नति र गुणस्तर अभिवृद्धि, ऐतिहासिक सम्पदा र संस्कृतिको संरक्षण तथा संवद्र्धन, स्वास्थ्य, सुरक्षालगायतका विषयलाई उनले प्रतिबद्धतापत्रमा समावेश गरेका छन् । तुल्सी गान्धी क्याम्पस, कान्तिपुर र सहिद आदर्श क्याम्पसमा एमएसी तहसम्म विज्ञान र इन्जिनियरिङ अध्यापन गराउने योजना प्रतिबद्धतापत्रमा उल्लेख छ ।

एक वडा एक पार्कको स्थापना, वृद्ध, अपांग, एकल महिलाहरूलाई घरमै सामाजिक सुरक्षा भत्ता वितरण, पशुपतिनाथदेखि कागेश्वरी महादेव मन्दिरसम्म परिपथ निर्माण, स्थानीय सडक र ढल निर्माणमा जनतासँग साझेदारी, कागेश्वरी चक्रपथ मार्गको स्तरोन्नति, नगर बस सञ्चालन, प्रत्येक वडामा नगर स्वास्थ्य क्लिनिक, प्राथमिक स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति गर्दै ५० शैयासम्मको अस्पताल सञ्चालन गर्ने उनले घोषणा गरेका छन् । त्यस्तै, सूचना प्रविधिमा आधारित सेवा प्रणाली, एकीकृत जग्गा विकासको व्यवस्थित योजनालगायतका विषय पनि प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।

पार्टी केन्द्रीय सहकारी विभागका सदस्य, एमाले जिल्ला कमिटी काठमाडौंका सदस्य, पूर्वगाविस अध्यक्षसमेत रहेका थापा सन्तुलित र कुशल संगठकका रूपमा परिचित छन् । विकासप्रेमी र सामाजिक अभियन्ता उनी लायन्स क्लब इन्टरनेसनल काठमाडौं डिस्ट्रिक्टका सदस्यसमेत छन् । थापासँगै एमालेले उपमेयरमा बिन्दु सिम्खडालाई उम्मेदवारका रूपमा अघि सारेको छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula