छोरी जिताउन होइन देश जिताउन तालमेल : अध्यक्ष अाेली

प्रकाशित मिति :2017-05-05 17:45:12

काठमाडौ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा अर्को दलसंग तालमेल गर्नुको कारण कसैको छोरा छोरीलाई जिताउनु नभई देश बनाउनको लागि भएको स्पष्ट पार्नुभयो ।

पार्टी मुख्यालय धुम्बाराहीमा पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै उहाँले एमाले देशभक्त र राष्ट्रियताका पक्षमा सधै अडिग रहने, लोकतन्त्रको पक्षधर पार्टी भएकोे बताउनुभयो ।

एक अर्को प्रसंगमा उहाँले बार चार प्रकारका रहेको व्यंग गर्नुभयो । प्रधानन्यायाधीश सुशिला कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावका बारेमा नेपाल बार एशोसएसनले गरेको निर्णयप्रति ईङ्गित गर्दै उहाँले व्यंग गर्नुभएको हो । एउटा बार रातीको बार, अर्को खेतबारीमा लगाउने बार, अर्को आईतबार, सोमबार, अहिले नेपालमा भएको बार एशोसियसन चाही कुन बार हो आफू अलमलमा परेको बताउनुभयो । न्यायलयमाथि हमला हुदा पनि बार एशोसियसन चुप लागेर बसेकोमा आफू अचम्म भएको उहाँको भनाई थियो ।

अरु दलले कोही छोरी जिताउन तालमेल गरिरहेका छन्, कोही दाइ जिताउन तालमेल गरिरहेका छन्, कोही ज्वाईं जिताउन तालमेल गरिरहेका छन्’ अध्यक्ष ओलीले काठमाडौंका एमकाले उम्मेदवारहरुको परिचय कार्यक्रमलाई सम्बोधन गर्दै भन्न्ुभयो , ‘हामीले छोरी, ज्वाईँ र दाइ जिताउन होइन देश जिताउन तालमेल गरिरहेका छौं ।’ काठमाडौंमा उद्योगमन्त्री नवीन्द्रराज जोशीका दाइ राजुराज जोशी, पोखरामा सहरीविकासमन्त्री अर्जुननरसिंह केसीका बहिनीज्वाईं रामजी कुँवर र चितवनमा प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणुलाई जिताउन कांग्रेस माओवादीबीच चुनावी तालमेल भएको थियो । यसैलाई इंगित गर्दै ओलीले आफूहरुले देश जोगाउन तालमेल गरेको बताउनु भयो ।

‘गैर संवैधानिक र स्वेच्छाचारी बाटोमा हिंडेका शक्तिलाई सर्वोच्चको फैसलाले ठेस लागेको छ’ ओलीले भने, ‘यो भन्दा बढी दम्भ पालेर स्वेच्छाचारी बाटोमा हिंड्ने हो भने त्यसले देशकै क्षति हुन्छ ।’ स्थानीय तहको चुनावमा काठमाडौं र ललितपुर महानगरमा राप्रपासँग गरिएको चुनावी तालमेल पार्टीलाई अझै बलियो बनाउन र देशलाई जिताउन गरिएको ओलीले वताउनु भयो ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula