कार्ल मार्क्सका विचार र अाधुनिक विश्व

प्रकाशित मिति :2017-05-05 16:07:18

 

बेदुराम भुसाल
आजभन्दा १९९ वर्ष पहिले जर्मनीको ट्रियर सहरमा जन्मिएका कार्ल मार्क्स  ई. १०००–२००० बीचको एक हजार वर्षको अवधिमा जन्मिएका विचाकहरूमध्ये सबैभन्दा बढी प्रभावशाली बने । यो हजार वर्षको अवधिमा चिन्तनको विकासमा धेरै ठूलो फड्को मारिएको थियो । यस अवधिमा एरिस्टोटलदेखि लिएर सेन्ट अक्विनस, कोपर्निकस, बेकन, हब्स, लक, रुसो, देकार्त, ह्युम, भोल्टेयर, कान्ट, सेलिङ, नित्सेलगातका सयौं महान् चिन्तकहरू जन्मेका थिए । ई. २००० को जुलाई ८ मा बीबीसी रेडियोले गरेको सर्वेक्षणमा माक्र्स ती सबैभन्दा अगाडि देखिए । त्यो पनि दोस्रो हुनेलाई आधाभन्दा धेरै मतले उछिने (सर्वेक्षणमा सहभागी २९,६५१ मतदातामध्ये २७.९३ प्रतिशतले माक्र्सलाई मत दिएका थिए भने दोस्रो हुने डेबिड ह्युमले १२.६७ प्रतिशत मत पाएका थिए र बाँकी अरू उन्नाइस जनाले) । संसारलाई यसरी प्रभावित गर्ने माक्र्सका ती विचाहरू के थिए त ? संक्षिप्तमा भन्नुपर्दा उनका ती महान् विचारहरूलाई निम्न बुँदामा राख्न सकिन्छ ः
१. द्वन्द्ववादी विश्व दृष्टिकोण
संसारका सम्पूर्ण वस्तु र घटनालाई एकलकाँटे कोणबाट नहेरी द्वन्द्ववादी दृष्टिले हर्नुपर्दछ र तिनीहरूको विश्लेषण द्वन्द्ववादी पद्धतिबाट गर्नुपर्दछ भन्ने मान्यता माक्र्सको सबैभन्दा प्रमुख मान्यता हो । द्वन्द्वात्मक भौतिकवादी दृष्टिले हेर्नु भनेको वस्तु र घटनालाई गतिमा र परिवर्तनको प्रक्रियामा हेर्नु हो । द्वन्द्ववादी पद्धतिबाट विश्लेषण गर्नु भनेको हरेक वस्तु र घटनामा सकारात्मक र नकारात्मक पक्ष, नवीन र पुरातन पक्ष, जीवनशील र मरणशील पक्ष, आगमन र गमनका पक्ष, सबल र दुर्बल पक्षजस्ता दुई पक्ष हुन्छन् भनेर विश्लेषण गर्नु हो । यसरी सिंगै संसारलाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिले हेर्ने र द्वन्द्ववादी पद्धतिबाट विश्लेषण गर्ने दृष्टिकोण माक्र्सको मूल दार्शनिक दृष्टिकोण हो । यो दृष्टिकोण अगाडि सारेर उनले चिन्तनको क्षेत्रमा उथलपुथल ल्याइदिए । त्यसैले भनिन्छ– ‘माक्र्सले चिन्तन पद्धतिमै क्रान्ति ल्याइदिए’ । माक्र्सले चिन्तन पद्धतिमा ल्याएको त्यस क्रान्तिले समाजका हर क्षेत्रमा यति धैरै प्रभाव पारेको छ कि माक्र्सवादको औचित्य सकियो भन्नेहरूलाई जवाफ दिँदै एकजना शोधकर्ताले लेखेअनुसार त्यस प्रभावलाई कम आँक्न नै मिल्दैन । (डेबिड वार्कर, ई.२००७.पृ.)
२. परिवर्तनकारिता
मार्क्स  (ई. १९७६) ले एकातर्फ “दार्शनिकहरूले विभिन्न ढङ्गबाट संसारको व्याख्या मात्रै गरेका छन्, जबकि सवाल यसलाई परिवर्तन गर्ने हो” भन्छन् (पृ.८) भने अर्कोतर्फ “द्वन्द्ववादले सामाजका प्रत्येक ऐतिहासिक रूपलाई सतत् परिवर्तनशील मान्दछ” भन्दछन् । (ई. १९८७.पृ.३०) यसो भनेर उनले समाजमा रहेका सबैखाले विभेद र असमानताहरू हटाउनका निम्ति समग्र समाज बदल्नुपर्ने तर्क गरेका हुन् । उनले “अहिलेसम्म हामीले मानव क्रियाकलापको मुख्यतः एउटा पक्षमा मात्रै विचार गरेका छौं, त्यो हो मान्छेद्वारा प्रकृतिको पुनःसंरचना गर्ने कार्य । अर्को पक्ष हो मान्छेद्वारा मान्छेकै पुनःसंरचना गर्ने अर्थात् मान्छेलाई नयाँ साँचोमा ढाल्ने (reshaping of men by men) कार्य” भन्दै (कोलेट्टी, ई. १९९२.पृ.५०) केवल समाज मात्र बदल्ने होइन, समाजको निर्माण गर्ने मान्छे स्वयंलाई नै पनि बदल्नुपर्ने कुरा गरेका छन् । यसरी उनले जुन परिवर्तनकारी मान्यता अगाडि सारे, त्यो उनको अर्को ठूलो क्रान्तिकारी मान्यता हो । यस मान्यताले केवल व्याख्यात्मक शैलीमा चलेको चिन्तन पद्धतिमाथि मर्मान्त प्रहार गरी परिवर्तनकारी ढंगले सोच्ने र विश्लेषण गर्ने नयाँ चिन्तन पद्धतिको सुरुवात गरायो । त्यस नयाँ पद्धतिले चिन्तनका हर क्षेत्रमा ठूलो प्रभाव पा¥यो र अहिले पनि पारिरहेको छ ।
३. श्रमजीवी वर्ग पक्षधरता
मार्क्सले समाज परिवर्तन गर्ने कुरा मात्रै गरेनन्, त्यो परिवर्तन श्रमिक वर्गको पक्षमा हुनुपर्ने स्पष्ट मान्यतासमेत राखे । मानवीय जीवनका निम्ति चाहिने सम्पूर्ण वस्तुको उत्पादन श्रमले गर्ने भएकाले माक्र्स त्यो श्रम गर्ने श्रमिकको पक्षमा उभिए । मानिसको जीवनलाई सुखी बनाउनका निम्ति उसका सम्पूर्ण आवश्यकताहरूको पूर्ति हुनुपर्दछ । ती आश्यकताहरू पूर्ति हुनका निम्ति उत्पादनमा वृद्धि हुनुपर्दछ । उत्पादनमा वृद्धि हुनका निम्ति उत्पादक शक्तिको सीप र क्षमतामा अर्थात दक्षतामा विकास हुनुपर्दछ । उत्पादक शक्तिको दक्षतामा विकास हुनका निम्ति त्यसमा बाधा पार्ने उत्पादनका साधनमाथिको व्यक्तिगत स्वामित्वलगायतका तमाम सम्बन्धहरूलाई तोड्नुपर्दछ । माक्र्सले यिनै कुरा भनेका थिए । यी कुरा वास्तवमा धेरै ठूला क्रान्तिकारी कुरा थिए, जसको समाजमा सकारात्मक वा नकारात्मक दुवै ढङ्गले अत्यन्त टूलो प्रभाव प¥यो र अहिले पनि परिरहेको छ ।
४. आर्थिक–सामाजिक अधिकारसहितको लोकतन्त्र
माक्र्सले आम नागरिकलाई राजनीतिक अधिकार मात्र होइन आर्थिक–सामाजिक अधिकारसमेत चाहिन्छ भन्ने दृढ अडान प्रस्तुत गरे । उनले बुर्जुवा लोकतन्त्रमा केवल राजनीतिक अधिकार मात्रै पाए (माएं, ई.१९७६बी.पृ.२५५), आर्थिक–सामाजिक अधिकार पाएनन् । त्यसैले उनले राजनीतिक मुक्ति र मानवीय मुक्तिका बीच आधारभूत भिन्नता रहेको निष्कर्ष निकाले र मानवीय मुक्ति राजनीतिक जगत्मा मात्रै प्राप्त हुन सक्तैन, यसले त आर्थिक सामाजिक व्यवस्थामा क्रान्तिकारी रूपान्तरणको माग गर्दछ भन्ने धारणा अगाडि सारे (मिलिबान्ड, ई.२००६.पृ.११) । उनले राजनीतिक अधिकारले मात्रै पुग्दैन आर्थिक–सामाजिक अधिकारसहितको लोकतन्त्र चाहिन्छ, आर्थिक अधिकार र सामाजिक न्यायसहितको वास्तविक जन लोकतान्त्रिक व्यवस्था स्थापना गर्नुपर्दछ भन्ने स्पष्ट मान्यता अगाडि सारे र त्यसका निम्ति जीवनभर संघर्ष पनि गरे ।
५. समानतासहितको स्वतन्त्रता
मार्क्सले नागरिकलाई स्वतन्त्रताले मात्र पुग्दैन समानता पनि चाहिन्छ भन्ने धारणासमेत ल्याए । समानता भएन भने स्वन्त्रताको उपयोगमा विभेद हुन्छ भन्ने उनको तर्क थियो । ‘श्रमिक वर्गको मुक्तिका निम्ति संघर्ष गर्नु भनेको वर्ग विशेषाधिकार र एकाधिकारका निम्तिको संघर्ष नभएर समान अधिकार र समान कर्तव्यका निम्ति तथा सबैखाले वर्गीय शासनको उन्मूलनका निम्ति संघर्ष गर्नु हो’ भन्दै उनले अविचल रूपमा समानताको पक्षपोषण गरेका थिए । (माक्र्स–एंगेल्स, ई.१९६९बी.पृ.१९) । उनको यो समानतासहितको स्वतन्त्रता चाहिन्छ भन्ने मान्यता ज्यादै ठूलो क्रान्तिकारी मान्यता थियो, समाजका सारा विभेदहरूलाई उखेलेर फ्याँक्नुपर्दछ भन्ने मान्यता थियो । यसले संसारलाई वास्तवमै झक्झकायो र चिन्तनको ठूलो हिस्सालाई त्यस दिशामा डो¥यायो पनि ।
६. इतिहासको भौतिकवादी व्याख्या
मार्क्सभन्दा पहिलेका चिन्तकहरूले इतिहासलाई भावात्मक ढंगले हेर्ने, बुझ्ने र व्याख्या गर्ने गर्दथे । माक्र्सले त्यस भाववादी चिन्तनलाई तोड्दै इतिहासलाई समाज विकासका भौतिक सम्बन्धहरूको समष्टिका रूपमा परिभाषित गर्ने र त्यसलाई गति र परिवर्तनको प्रक्रियामा हेर्ने, बुझ्ने तथा व्याख्या गर्ने र बदल्नका निम्ति तरिका बताउने दृष्टिकोण ल्याए । उनले “जीवनको सम्बन्ध सबभन्दा पहिले भोजन, पानी, आवास र पोसाकसँग हुन्छ, त्यसैले यी आश्यकताहरूको पूर्ति गर्ने साधनहरूको उत्पादन गर्नु, भौतिक जीवन स्वयंको उत्पादन गर्नु, प्रथम ऐतिहासिक कार्य हो” भन्दै (मार्क्स र एंगेल्स, ई.१९६९.ए.पृ.३०) समाजको निर्माण, विकास र परिवर्तनमा भौतिक उत्पादन कार्यको निर्णायक भूमिका रहने व्याख्या गरे । अनि “भौतिक जीवनको उत्पादन पद्धतिले सामाजिक, राजनीतिक र बौद्धिक जीवनको आम प्रक्रिया निर्धारण गर्दछ” भन्दै ( मार्क्स, ई.१९७०.पृ.२०–२१) समाजको आधार जस्तो हुन्छ त्यसैअनुरूपको संरचना बन्दछ भन्ने धारणा ल्याए । र, ‘मानिसको चेतनाले उनीहरूको अस्तित्व निर्धारण गर्ने होइन, बरु उनीहरूको भौतिक अस्तित्वले उनिहरूको चेतनाको निर्धारण गर्दछ” भन्दै ( मार्क्स, ई.१९७०.पृ.२१) भौतिक परिवेशले चिन्तनको निर्माण र विकासलाई आधार प्रदान गर्ने मान्यता ल्याए । यसरी उनले समाज र चिन्तनको क्षेत्रमा पनि भौतिक नियमले काम गर्दछन् भन्ने जुन दृष्टिकोण ल्याए त्यसले चिन्तन र विश्लेषणको क्षेत्रमा ज्यादै ठूलो प्रभाव पा¥यो र अहिले पनि पारिरहेको छ ।
७. सिद्धान्त र व्यवहारको एकरूपता
मार्क्सले  “मानव चिन्तनले वस्तुनिष्ट सत्यको बोध गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न सैद्धान्तिक नभएर व्यावहारिक प्रश्न हो, मानिसले आफ्नो चिन्तनको सत्यता व्यवहारमा प्रमाणित गर्नुपर्दछ” भनेका छन् । (माएं, ई.१९६९ए.पृ.१३) यस भनाइबाट माक्र्सले सिद्धान्त र व्यवहारबीच अभिन्न एकता हुनुपर्नेमा र सिद्धान्त व्यवहारसँग जोडिनुपर्नेमा जोड दिएको स्पष्ट हुन्छ । यसै मान्यताका आधारमा माक्र्सवादीहरूले दर्शन र सिद्धान्तहरू गतिशील हुन्छन् र तिनीहरू जीवनका निम्ति हुन, जीवन तिनिहरूका निम्ति होइन भन्ने विश्लेषण गर्ने गर्दछन् । (भण्डारी, २०६९.पृ.२३२)
माक्र्सका उपर्युक्त विचारहरूले संसारलाई ज्यादै ठूलो मात्रामा प्रभाव पारे र आज पनि पारिरहेका छन् । उनका यी विचारहरू आज पनि त्यत्तिकै सान्दर्भिक छन् जति तिनिहरूको प्रतिपादन हुने बेलामा थिए । माक्र्सले उठाएका मूल मुद्दाहरू अझै पनि समाधान भएका छैनन् । समाजमा वर्गीय, जातीय, धार्मिक, सांस्कृतिकलगायतका तमाम विभेदहरू कायमै छन् । वर्गीय शोषण र शासनको अन्त्य भएको छैन । समानतासहितको स्वतन्त्रता मानव जातिले अझै प्राप्त गरेको छैन । यी समस्याहरूको समाधानमा आज पनि कार्ल माक्र्सका विचारले मार्गदर्शन गरिरहेका छन् । ती महान् विचारक, उनका अनन्य सहयोद्धा पे्रmडरिख एंगेल्सका शब्दमा अतिरिक्त मूल्यको सिद्धान्त र इतिहासका भौतिक नियमहरू पत्ता लगाएर समाजवादलाई विज्ञान बनाउने वैज्ञानिक र लाला हरदयालका शब्दमा एक आधुनिक ऋषि कार्ल माक्र्सलाई उनी जन्मिएको १९९ औं वर्षका सन्दर्भमा हृदयदेखिको सम्मान र सलाम ।
२०७४-१-२२ (५ मे २०१७)
सन्दर्भ सामग्री

Miliband, R. (2006). Marxism and Politics. Delhi. Aakar Books.

Colletti, L. (1992).  Karl Marx Early Writings. London. Penguin Books.

Marx, K. (1970). A Contribution to the Critique of Political Economy. Moscow. Progress Publishers

…,  (1978).  The Poverty of Philosophy. Peking. Foreign Languages Press .

Marx, K. & Engels, F. (1969.a). Selected Works in three Volumes. Volume one Moscow. Progress Publishers.

…, (1969 b). Selected Works in three Volumes. Volume two. Moscow. Progress Publishers.

…, (1976). Collected Works. Volume 5. Moscow. Progress Publishers

Walker, D. & Gray, D. (2007). Historical Dictionary of Marxism. Lanham. The Scarecrow Press.

भण्डारी, मदन. (विसं २०६९) संकलित रचनाहरू.भाग ३. काठमाडांै. मदन–आश्रित स्मृति प्रतिष्ठान ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula