बेलकोटगढीलाई नमुना नगर बनाउँछाैं : खनाल

प्रकाशित मिति :2017-05-05 12:25:05

नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिका प्रमुख (मेयर) मा नेकपा (एमाले) का उम्मेदवार राजेन्द्ररमण खनालले बेलकोटगढी नगरपालिकालाई देशकै नमुना नगरका रूपमा विकास गर्ने उद्घोष गरेका छन् । स्थानीय निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गर्दै खनालले त्यस्तो उद्घोष गरेका हुन् । नगरको पूर्वाधार विकास आफ्नो पहिलो एजेन्डा भएको उनको भनाइ छ ।

ग्रामीण क्षेत्रमा रहेको नगरलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन सकिने सम्भावना औंल्याउँदै उनले पर्यटनको विकासबाट नमुना नगर बनाइने बताए । ‘बेलकोटगढीका १३ वटै वडामा नमुना परम्परागत शैलीका एकीकृत बस्ती विकास गर्न सकिन्छ, उनले भने, ‘त्यसका लागि हरेक वडाबाट केन्द्रसम्म पुग्ने ग्रामीण मोटरबाटोलाई पक्की बनाएर उत्पादनको बजारीकरण गर्न सकिन्छ ।’ विकासको व्यापक सम्भावना बोकेको नगर भएकाले एमालेजस्तो विकासको स्पष्ट ‘भिजन’ बोकेको पार्टीले मात्रै नगरको मुहार फेर्न सक्ने उनको विश्वास छ । ‘बेलकोटगढी सम्भावनाहरूको नगर हो,’ खनालले भने, ‘त्यसैले, यो नगरको नेतृत्व एमालेबाहेक अरू पार्टीले गर्नै सक्दैन ।’

बेलकोटगढी नगरको माथिल्लो भेगमा जडीबुटी खेतीको विस्तार, बेंसीतिर औद्योगिक क्षेत्र निर्माणमा आफूले प्रयास गर्ने उनको प्रतिबद्धता छ । त्यस्तै, व्यावसायिक कृषिका लागि आधुनिकीकरण गर्ने खनालको योजना छ । लामो समय नेकपा (एमाले) मा सक्रिय खनाल जिल्ला कमिटी सदस्य रहेका उनी पार्टीको क्षेत्रीय अध्यक्षसमेत हुन् । २०५४ सालको स्थानीय निर्वाचनमा साबिकको मदानपुर गाविसबाट उनी लोकप्रिय मतका साथ उपाध्यक्षमा निर्वाचित भएका थिए ।

एमालेका तर्फबाट नगरपालिकाको उपमेयरमा रूपा सापकोटाले उम्मेदवारी दिनुभएको छ । २०५४ सालको स्थानीय निर्वाचनमा यो नगरपालिका (साबिकका गाविस) मा एमालेबाट अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए ।

भाेला पाैडेलबाट

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula