स्थानीय निर्वाचन अघि संबिधान संशोधनको प्रस्ताव अघि बढ्दैनः नेम्वाङ

प्रकाशित मिति :2017-05-04 17:59:23

काठमाडौँ ।
स्थानीय तहको निर्वाचन पूर्व संविधान संशोधनको प्रस्ताव अघि नबढ्ने नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले बताउनु भएको छ । स्थानीय तहको निर्वाचनका सन्दर्भमा नेकपा (एमाले) प्रचार विभागले आयोजना गरेको प्रेस व्रिफिङ कार्यक्रमा नेम्वाङले बिहीबारको संसद् बैठकको कार्यसूचीमा संविधान संशोधनको बुँदा नै नराखिनुले पनि सत्ता पक्षले संविधान संशोधनको विषयलाई प्राथमिकतामा राख्न नचाहेको  बताउनु भयो । सत्ता पक्षले संविधान संशोधनको प्रस्ताव फेल हुने डरले छलफलमा नै ल्याउन नचाहाएका कारण पनि यसको औचित्य नरहेको उहाँको भनाई छ ।

सरकार अझै पनि स्थानीय तह निर्वाचनको पक्षमा नरहेको आरोप लगाउदै नेम्वाङले दुई चरणको निर्वाचनमा सत्ता पक्षको स्वार्थ लुकेको आरोप लगाउनु भयो । आफुहरुले आज निर्वाचन अयोगमा पुगेर ध्यानाकर्षण गराएको स्मरण गराउँदै नेम्वाङले दुई चरणमा निर्वाचन गराएर दुई चरणमा नै मत गणना गर्ने काम विश्वमा कतै नभएको बताउँदै उहाँले एक महिनाको अन्तरालमा चुनाव गर्दा मत सुरक्षाको कुृनै योजना आयोग तथा सरकार सँग नभएको बताउनु भयो ।

नयाँ बजेट ल्याउनु पूर्व सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु पर्ने र त्यसलाई निर्वाचन आचार संहिताले रोक्ने भएका कारण पनि बजेट पछि दोस्रो चरणको निर्वाचन गर्न नमिल्ने नेम्वाङको भनाई थियो । एमालले उठाएको विषयमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव पनि गम्भीर रहेको बताउँदै नेम्वाङले भन्नु भयो – प्रमुख निर्वाचन आयुक्तले पनि यस विषयमा सरकार सँग सल्लाह गरेर यो समस्या समाधानमा लाग्ने बताउनु भएको छ ।

प्रधानमन्याधीश सुशीला कार्कीलाई महाअभियोग लगाउनुलाई स्वतन्त्र न्यायपालिका माथिको प्रहार भएको नेम्वाङको ठहर छ । साहसिक रूपमा फैसला गरेर इतिहास निर्माण गर्ने कार्कीलाई महाअभियोग दर्ता गर्नु स्थानीय निर्वाचनलाई प्रभाव पार्ने योजनाका रूपमा आफुहरुल बुझेको नेम्वाङले बताउनु भयो ।

सो अवसरमा एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले एमाले सञ्चार मैत्री पार्टी भएको बताउनु भयो । दैनिक रूपमा स्थानीय तहको निर्वाचनका बारे पत्रकारहरुलाई जानकारी दिने भट्टराईले बताउनु भयो ।  एमालेले स्थानीय तहको निर्वाचनमा भएका काम र पार्टीले गरेको कामको सञ्चारकर्मीलाई जानकारी दिनका लागि आजदेखि यो कार्यक्रम सुरु गरेको प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताउनु भयो ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula