काँग्रेस–माओवादी प्रतिक्रान्तिको बाटोमा : सचिव भट्टराई

प्रकाशित मिति :2017-05-04 12:50:55

काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) अहिले प्रतिक्रान्तिको बाटोमा लागिरहेको बताउनुभएको छ । छ दशकभन्दा लामो संघर्षको उपलब्धिका रुपमा रहेको संविधान कार्यान्वयनमा दृढतापूर्वक लाग्नु क्रान्तिकारीहरुको अहिलेको प्रमुख काम भए पनि काँगे्रस–माओवादी यस दिशामा नभएको दाबी उहाँले गर्नुभयो ।

२०६२-६३ को जन–आन्दोलन र संविधान निर्माणमा काँग्रेसको सकारात्मक भूमिका रहे पनि संविधान कार्यान्वयन गर्ने काममा उसको भूमिका ठीक नभएको आरोप पनि उहाँले लगाउनुभयो । उहाँले दाबी गर्नुभयो– “पुरातनवादी सोच र दृष्टिकोण बोकेको काँग्रेसले अहिले ती दृष्टिकोण पनि बोक्न सकेको छैन भने ऊ समाजवादी दृष्टिकोण लिएर अगाडि बढ्न पनि सकिरहेको छैन ।”

मुलुकलाई अस्थिरता र अधोगतिमा ल्याउन काँग्रेसको भूमिका रहेको जनाउँदै उहाँले एमालेको सरकारले अघि सारेका वृद्धभत्ता, सुत्केरीभत्ता र स्वास्थ्यबीमा जस्ता लोकप्रिय कार्यक्रमलाई सुरुमा आलोचना गर्ने त्यही पार्टीले अहिले ती काम आफूले गरेको भनेर प्रचार गरेकामा आक्रोश व्यक्त गर्नुभयो ।
एमाले प्रचार विभागका प्रमुखसमेत रहनुभएका भट्टराईले भन्नुभयो, “एजेण्डका हिसाबले पनि अब काँग्रेसको औचित्य सकियो, ऊ समाजवादी होइन, पुरातनवादी पनि रहेन । समाजवादी र राष्ट्रवादीहरु एमालेमा आउनुस्, राजतन्त्र र हिन्दूधर्मको एजेण्डा बोक्नेहरु राप्रपामा जानुस्, काँग्रेसको काम छैन ।”
युवा नेता भट्टराईले राजनीतिमा महिला सहभागिता वृद्धि गर्नुपर्छ भन्ने एजेण्डालाई एमालेले पहिलो पटक उठाएको र त्यसलाई स्थापित गरेको स्पष्ट गर्दै अहिले पनि सबैभन्दा बढी नगरप्रमुख र गाउँपालिका प्रमुखमा महिला एमालेले नै उठाएको दाबी गर्नुभयो ।

एमाले र राप्रपाको चुनावी तालमेलबारे काँग्रेस र माओवादीले गरिरहेको दुष्प्रचारका सन्दर्भमा नेता भट्टराईले भन्नुभयो– “राप्रपाका अध्यक्ष कमल थापालाई एक नम्बरको उपप्रधानमन्त्री बनाउने वर्तमान सत्ता गठबन्धनमा रहेका ती दलले एमाले र राप्रपाबीच भएको चुनावी तालमेलप्रति टिप्पणी गर्नुको कुनै तुक छैन ।”
उहाँले एमालेले आफ्ना एजेण्डासँग सहमत हुने कुनै पनि दलसँग आवश्यकता अनुसार तालमेल गर्ने समेत स्पष्ट गर्नुभयो ।
नेपालमा न्यायालयको इतिहासमा पहिलो पटक एकजना महिला प्रधानन्यायाधीश बनेर विश्वलाई नै एउटा उदाहरण प्रस्तुत गरेको अवस्थामा काँग्रेस–माओवादी गठबन्धनले हठात् महाभियोग प्रस्ताव दर्ता गराएर पदच्युत गर्ने बाटोमा लाग्नु दुर्भाग्यपूर्ण भएको भन्दै यी दुई पार्टीसँग महिला अधिकारका कुरा गर्ने नैतिकतासमेत नभएको उहाँले बताउनुभयो ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula