पार्टीभित्रै प्रचण्डपुत्रीको विरोध, परिवारवाद हाबी भएको भन्दै आक्रोश

प्रकाशित मिति :2017-05-03 16:05:22

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन महानगरपालिकाको मेयरमा आफ्नै छोरी रेणुलाई उम्मेदवार बनाएपछि पार्टीभित्रै अन्तरविरोध शुरु भएको छ । अगुवा नेता÷कार्यकर्ताहरुले नै रेणुलाई कुनैपनि हालतमा सहयोग नगर्ने सार्वजनिक घोषणा गरेका छन् । स्थानीय तहमा पार्टीका लागि दिनरात खटिने कार्यकर्तालाई वेवास्था गरिएको उनीहरुको गुनासो छ । पार्टीभित्र परिवारवाद हाबी भएको भन्दै उनीहरुले सामाजिक संजालमा आक्रोश पोखेका छन् ।

रेणु प्रधानमन्त्री प्रचण्डकी माइली छोरी हुन । पहिलो संविधानसभामा उनी समानुपातिकतर्फबाट सभासद् थिईन । दोस्रो संविधानसभामा काठमाडौं–१ बाट उम्मेदवार बनेकी उनी नराम्ररी पराजित भएकी थिईन् । चितवनका कार्यकर्ताको भावनाविपरित अहिले उनलाई चितवनमा मेयरको उम्मेदवार बनाइएको छ । प्रचण्डपुत्री भएकै कारण रेणुलाई पार्टीले पटक पटक अवसर दिने गरेको कार्यकर्ताहरुको गुनासो छ ।

चितवनबाट मेयरका लागि नारायण दाहाल, पार्टी अध्यक्ष यमबहादुर परियार, प्रचण्डका बहिनी ज्वाई खेम भण्डारी, पुराना कार्यकर्ता तथा चितवन उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष मित्रराज दवाडीको नाम चर्चामा थियो । उनीहरुले त्यसका लागि केन्द्रमा नेताहरुसँग लबिङ पनि गरिरहेका थिए । तर, सबैलाई पाखा लगाएर प्रचण्डकै निर्देशनमा पुत्री रेणुलाई उम्मेदवार बनाउने निर्णय भएको छ । नारायण दाहाल प्रधानमन्त्री प्रचण्डकै भाई हुन् । उनी दोस्रो संविधानसभा निर्वाचनमा चितवनबाट उम्मेदवार बनेका थिए ।
रेणुको उम्मेदवारीपछि माओवादीकै स्थानीयदेखि केन्द्रीय नेतासम्मले विरोध जनाउन थालेका छन् । स्रोतका अनुसार केन्द्रीय सदस्य सुरेशचन्द्र अधिकारीले कार्यकर्तामाझ पार्टीभित्र परिवारवाद हाबी भन्दै असन्तुष्टी जनाउने गरेका छन् । ‘के गर्नु यो पार्टीमा इमान्दार भएर काम गर्नेको मुल्यांकन नै हुदैन । नेताका छोराछोरीले मात्रै अवसर पाउने भए, पार्टीभित्र अवसरवाद हाबी भयो’, एक माओवादी कार्यर्ताका अनुसार उनले कार्यकर्ताहरुमाझ भन्ने गरेका छन् ।

प्रचण्डको विश्वासपात्रका रुपमा चिनिएका प्रेम रिमालले त सामाजिक संजालमै विरोध जनाएका छन् । ‘यदि चितवनमै बसेर यहाँका जनताका बीचमा काम गरिरहेका मान्छेहरुबाट उम्मेदवार बनाउन नसकी सधैं काठमाडौंमा बस्ने मान्छेलाई टिकटदिन्छ पार्टीले भने त्यो पार्टीको भविष्य छैन् भन्ने बुझ्दा हुन्छ । छोराछोरी, भाईभतिजा र नातागोताबाहेकलाई आफ्नो नदेख्ने आँखा भएको नेतृत्व अन्ततः दृष्टिविहिन नै हो’, रिमालले फेसबुकमा लेखेका छन् । रिमाल माओवादी अध्यक्ष प्रचण्डको सिफारिसमा चितवनस्थित विपी कोइराला मेमेरियल क्यान्सर अस्पताल संचालक समितिको सदस्य भएका थिए । उनी प्रचण्डको विश्वासपात्रको रुपमा कार्यकर्तामझ चिनिन्छन् ।

प्रचण्डले गर्ने निर्णयमा पत्नी सिता र पुत्री रेणुको प्रभाव रहने गरेको माओवादी कार्यकर्ताहरु नै बताउँछन् । दुई बर्षअघिको भुकम्पका बेला भारतबाट गोरखाका पीडितहरुका लागि आएको राहत रेणुले पिताकै आडमा कब्जामा लिएकी थिईन । केयर इण्डियाले गोरखाका पीडितहरुका लागि दाँत माझ्ने मन्जनदेखि अन्य दैनिक आवश्यक सामग्रीका दुई सय ५० प्याकेट केयर नेपालमार्फत पठाएको थियो । तर, सप्तरीको भारदहबाट रेणुले ति प्याकेट कब्जामा ल्याएर काठमाडौं पु¥याएकी थिईन । त्यसको विरोधमा पीडितहरु काठमाडौं नै आइपुगेका थिए ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula