ठीमी नगरपालिकालार्ई ‘लाइभ कल्चरल सीटी’ बनाईने , एमाले उम्मेदवारका यस्ता छन योजना

प्रकाशित मिति :2017-05-03 14:22:10

काठमाडौँ, २० वैशाख, सांस्कृतिक रूपमा परिचित भक्तपुर जिल्लाको काठमाडौंसंग जोडिएको नगर हो मध्यपुर ठीमी नगरपालिका । यो नगरपालिकालाई अबको पाँच वर्षपछि सुन्दर, सुरक्षित र सभ्य र वातावरणमैत्री सहरको रूपमा देख्न सकिन्छ । मध्यपुर ठीमी नगरमा प्रवेश गर्दा मुख्य दुई सडक हुनेछन् । मनहरा, हनुमन्ते खोलालाई समेटेर ठीमी नगरको बाहिरी चक्रपथ हुनेछ । यो सँगै नगरपालिकाभित्रको ठीमी, नगदेश र बोडे तीन सहरलाई घेरेर भित्री चक्रपथ बन्नेछ । यो योजनासहित एमालेका तर्फबाट प्रमुखको उम्मेदवारी दिएका इन्जिनियर मदन सुन्दर श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् ।

मध्युर ठीमी नगरलाई मुलुककै नमुदा सांस्कृतिक पर्यटकीय सहर बनाउने योजना बोकेका श्रेष्ठको योजनाअनुसर नगरभित्रका तीन सांस्कृतिक सहर ठीमि, नगदेश र बोडेलाई ‘लाइभ क्लचरल सीटी’को रूपमा विकास हुनेछ । तीन सहरलाई घेरे विकास गरिएको भित्री चक्रपथबाट पैदल यात्राबाट नै घुम्न सकिनेछ । प्रमुखका उम्मेदवार श्रेष्ठले भक्तपुरको नगरलाई सुन्दर र सुरक्षित सहरको विकास गर्ने योजना बनाएका छन् । ‘तीनै सहरलाई पैदल यात्राबाट जाने व्यवस्था गरेपछि सहरको पहिचान झल्किन्छ,’ प्रमुखका उम्मेदवार श्रेष्ठले भने, ‘हाम्रो नेतृत्वमा नगरपालिकाबाट गरिने कार्यक्रमहरू यहाँका नयाँ र पुराना बस्तीविचको दुरी कमगरी सबैको अपनत्व हुने सहरको रूपमा विका गर्नेर्छौ ।’

योजनाअनुसारको ठीमि नगरभित्रका तीन सहरभित्र प्रवेश गर्ने पर्यटकले कम्तीमा पनि एक दिन बिताउन सक्नेछन् । दिनभर भित्री सहरमा समय विताएका पर्यटकले पैदल यात्राबाट हनुमन्ते करिडोरसम्म पुग्नसक्ने गरी योजना तयार गरिएको छ । दिनभित्रै प्रदुषित हुँदै गएको हनुमन्ते र मनहरा नदीकिनारमा निर्माण हुने करिडोरसंगै ढलको व्यवस्था गरिनेछ । नदीमा ढल फाल्न प्रतिबन्ध लगाइने छ भने त्यो ढललाई काठमाडौँको बागमती करिडोरमा निर्माण गरिएका ढलमा मिसाउने योजना उनले बुनेका छन् ।

स्वच्छ पानी बगेको मनहरा र हनुमन्तेका किनारमा नदी उकास बाट निस्किएका जग्गामा पार्क निर्माण गरिनेछ । पार्कहरु बालबालिका, युवा र वृद्धाको साथै अपांगमैत्री हुनेछन् । नगरभित्र धुँवाधुलो पूर्णत नियन्त्रण हुनेछ । सहरमा धुलो देखिनैछैन । दुई मुख्य सडकबाहेक भित्री सहरमा पैदल यात्रा हुने भएकाले पनि धुलो पूर्णत रोक्ने प्रमुखका उम्मेदवार श्रेष्ठको दाबी छ । ठुला फराकीला सडकका कारण ट्राफिक व्यवस्थापनमा सहज हुनेहुँदा पनि प्रदूषण नियन्त्रण हुने उनको विश्वास छ ।

ठीमी नगरपालिकामा २० वर्षको अवधिमा ४ गुणाले बस्ती विस्तार भएको छ । बस्ती विकास भए पनि अस्तव्यस्त भएको छ । यस्तो अस्तव्यस्त बस्तीलाई व्यवस्थित बनाएर सुन्दर सहर बनाउने लक्ष्य बोकेका उम्मेदवार श्रेष्ठ आफै पनि सिभिल इन्जिनियर हुन् । उनले व्यवस्थित सहर बनाउन बस्तीभित्रका पुराना पाटी, सतल तथा खुल्ला स्थानहरूको संरक्षण र विकास गर्ने योजना बनाएका छन् । यसले विपद्को सयमा खुल्लास्थानमा आश्रय लिन सक्ने व्यवस्था गरिनेछ । नगरभित्रका सबै भवनहरू भूकम्पप्रतिरोधी बनाउने उनको योजना छ ।

नगरभित्रका सबै कार्यालयहरु बालबालिका, वृद्धवृद्धा र अपांगमैत्री बनाउने उनको योजना छ । उनले स्वास्थ्य क्षेत्रमा पनि नगरभित्र रहेको कोरिया नेपालमैत्री अस्पतालको सेवा प्रभावकारी हुने नसकेको भन्दै त्यसलाई तत्काल सुधार गरी उपत्यकाका अन्य अस्पतालबाट रिफर हुने गरी विकास गर्ने उनको योजना छ । नगरको २ नम्बर वडास्थित सानोठिमीमा शिक्षाका सबै कार्यालय भएकाले त्यस क्षेत्रलाई शैक्षिक हवकोरुपमा विकास गरिनेछ । नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयविचको अन्तरलाई कम गर्दै समानरुपमा एकै किसिमको शिक्षको विकास गरिने उनले बताए ।

सहरलाई सुरक्षित सहर बनाउने सहरभित्र सिसिटिभिको विकास गरी सुरक्षा प्रत्याभुत हुनेगरी काम गर्ने प्रमुखका उम्मेदवार श्रेष्ठको योजना छ । नगरप्रहरी, नेपाल प्रहरी नेपाली सेनासंगको सहकार्यमा सुरक्षा व्यवस्थालाई कार्यान्वयनमा ल्याउने उनको योजना छ । आफ्नो योजनाहरू सुनाउँदै उनले नगदेशलाई अर्गानिक उत्पादनको मुख्य कृषि क्षेत्रको रूपमा विकास गरिने बताए । कृषिमा आधुनिकीकरणको विकास गर्ने योजना उनले बोकेका छन् । मध्यपुर ठीमि नगरपालिकामा एमालेले नेपाल मजदुर किसान पार्टीसँग गठबन्दन गरेको छ । गठबन्दनमा नेमकिपाबाट केदार खड्कालाई उम्मेदवार बनाएको छ । दुवै उम्मेदवारहरुले आफ्ना योजना पुरा गराउनाका लागि आफूहरुलाई मतदान गर्न आव्हान गरेका छन् ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula