एमालेको घोषणापत्रः तराई–पहाडमा अत्याधुनिक रेल

प्रकाशित मिति :2017-05-01 08:49:18

काठमाडौँ

नेकपा एमालेले आगामी १० वर्ष भित्रमा तराई–पहाडमा अत्याधुनिक रेलसेवा सञ्चालनमा ल्याउने जनाएको छ ।आसन्न स्थानीय निर्वाचनका लागि आइतबार सार्वजनिक घोषणापत्रमा एमालेले पूर्व–पश्चिम राजमार्ग र मध्यपहाडी पुष्पलाल राजमार्गको समानान्तर अत्याधुनिक रेल सञ्जालको निर्माण गर्ने जनाएको हो ।

‘तराई–मधेसको पुर्व–पश्चिम राजमार्ग र पुष्पलाल मध्यपहाडी लोकमार्गमा आगामी १० बर्षभित्र सम्पन्न हुने गरी अत्याधुनिक रेल सेवा सञ्चालनमा ल्याइने छ’, एमालेको घोषणापत्रमा भनिएको छ, ‘राजमार्ग र रेलमार्ग निर्माण गर्दा पर्यावरणलाई समेत ध्यानमा राखी स्थान विशेषको अवस्था हेरी सुरुङ र उच्च पुल निर्माण प्रविधि अपनाइने छ ।’

एमालेले रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणलाई पनि विशेष प्रथामिकतामा राखेको छ । त्यसैगरी काठमाडौं–वीरगञ्ज रेलमार्ग निर्माण गरिने योजना पनि एमालेको घोषणापत्रमा उल्लेख छ ।

एमालेले सीमा नाकाबाट रेलमार्गको सम्भाव्यता अध्ययन गरी निर्माण योजना अगाडि बढाइने जनाएको छ । राजधानी काठमाडौँमा भित्री चक्रपथको समानान्तर ट्राम र अत्याधुनिक मेट्रो रेल निर्माण गरिने घोषणा पनि एमालेले गरेको छ ।

‘राजधानीसँग जोडिएका जिल्लाहरूमा रेल सेवा विस्तारको सम्भाव्यता अध्ययन गरी ंरेल सेवा विस्तार योजना शुरु गरिने छ’, एमालेले भनेको छ, ‘यसबाट आर्थिक क्रियाकलापमा बृद्धि भई जनताको जीवनस्तरमा ठूलो उन्नति र परिवर्तन हुनेछ ।’

 

पुर्व–पश्चिम राजमार्ग ६ लेनको

नेकपा (एमाले) सडकको विकासमा विशेष जोड दिँदै ६ लेनसम्मका सडक निर्माणमा विशेष जोड दिएको छ ।

‘सरकारले सडक, रेल, हवाई, जलमार्ग, पदमार्ग, केबलकार तथा घोडेटो र गोरेटो बाटो निर्माण, विस्तार एवम् स्तरोन्नतिका वृहत् परियोजना सञ्चालन गर्नेछ’, एमालेले भनेको छ, ‘राजमार्ग र रेलमार्ग निर्माण गर्दा पर्यावरणलाई समेत ध्यानमा राखी स्थान विशेषको अवस्था हेरी सुरुङ र उच्च पुल निर्माण प्रविधि अपनाइने छ ।’

एमालेले तराई–मधेसको हुलाकी राजमार्गलाई आधुनिक सुविधायुक्त राजमार्गका रुपमा निर्माण सम्पन्न गरिने पनि उल्लेख गरेको छ । उसले पूर्व–पश्चिम राजमार्गलाई ६ लेनमा स्तरोन्नत गरिने जनाएको छ ।

 

पाँच वर्षभित्र सबै राजमार्ग फराकिला

एमालेले पाँच वर्षभित्र सबै राजमार्गहरूको विस्तार तथा स्तरोन्नत हुने गरी आधुनिक प्रविधिको प्रयोग गर्दै काम अघि बढाइने जनाएको छ ।

‘नेपाल आफैँले निर्माण थालेर पाँच वर्षभित्र सम्पन्न गर्ने गरी काठमाडौँ–तराई द्रूत मार्गको काम अगाडि बढाइने छ’, घोषणापत्रमा भनिएको छ, ‘इलामदेखि भित्री तराई तथा उपत्यका हँुदै डडेल्धुरासम्मको नयाँ औद्योगिक करिडोर राजमार्ग निर्माण गरिने छ ।’

पुष्पलाल राजमार्ग चार लेनको

एमालेले निर्माणाधीन मध्यपहाडी पुष्पलाल राजमार्गलाई पाँच वर्षभित्र चार लेनमा स्तरोन्नत गरिने जनाएको छ । त्यसैगरी चीन–भारत जोड्ने उत्तर–दक्षिण राजमार्गहरूलाई चार लेनमा स्तरोन्नत गरी बनाइसक्ने एमालेले उल्लेख गरेको छ ।

त्यसैगरी तराईका सबै जिल्लामा पूर्व–पश्चिम राजमार्गदेखि नेपाल–भारत सीमानासम्म चार लेनका राजमार्ग निर्माण गरिने भएको छ ।

चीन जोड्ने सडक दुई लेनका

एमालेले हिमाली जिल्लाहरूका सदरमुकामदेखि नेपाल–चीन सीमानासम्म न्यूनतम दुई लेनका सहायक राजमार्ग निर्माण गरिने घोषणापत्रमा उल्लेख छ ।

त्यसैगरी बाँकी जिल्ला सदरमुकामहरूमा पूर्व–पश्चिम राजमार्ग र मध्य पहाडी पुष्पलाल राजमार्गबाट दुई लेनका सहायक राजमार्गहरू निर्माण गरिने उल्लेख गरिएको छ ।

प्रादेशिक सडकलाई राजमार्ग बनाइने

एमालेले सबै प्रादेशिक सडकहरूको विकासमा पनि विशेष जोड दिएको छ । उसले प्रादेशिक सडकलाई आधुनिक सुविधायुक्त राजमार्गका रुपमा निर्माण गरिने भएको छ ।

त्यसैगरी सडक विभाग र स्थानीय निकायले निर्माण गरेका सबै सडकलाई न्यूनतम दुई लेनमा विस्तार गरिने एमालेको घोषणापत्रमा उल्लेख छ ।

 

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula