‘निरंकुशतातर्फ लैजाने तानाबाना’

प्रकाशित मिति :2017-05-01 04:55:44

प्रमुख प्रतिपक्षी एमालेले स्वतन्त्र न्यायपालिकालाई ध्वस्त पार्दै मुलुकलाई निरंकुशतातर्फ लैजाने तानाबानास्वरूप प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग प्रस्ताव ल्याइएको प्रारम्भिक टिप्पणी गरेको छ ।

निर्धारित स्थानीय तहको चुनावसमेत प्रभावित पार्ने उद्देश्य यसभित्र निहित रहेको एमाले नेताहरूको ठहर छ । यस प्रकरणमा एमालेले औपचारिक रूपमा कुनै वक्तव्य दिएको छैन तर पार्टीका करिब सबैजसो नेताहरूले महाअभियोग प्रस्ताव ल्याइएप्रति तीव्र रोष प्रकट गरेका छन्

‘प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनु दुर्भाग्यपूर्ण छ,’ पूर्वसभामुख एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले कान्तिपुरसँग भने, ‘यो कुनै अधिनायकवादी निरंकुशतातर्फ मुलुकलाई लैजाने तानाबाना त होइन ?’ स्वतन्त्र न्यायपालिकालाई कमजोर पारेर त्यसबाट फाइदा लिने उद्देश्यस्वरूप सत्तापक्ष चलिरहेको आरोप उनको थियो ।

तीन तहको निर्वाचन गरी संविधानलाई पूर्ण रूपमा कार्यान्वयन हुने दिशामा लैजानुपर्ने बेला सत्तापक्षले एकपछि अर्को गलत काम गरिरहेको उनले बताए । ‘निर्वाचन हुन नदिने र मुलुकलाई अस्थिरतामै राखिरहने प्रयास भइरहेको छ,’ नेम्बाङले भने, ‘त्यहीअनुसार सत्तापक्ष चलिरहेको छ ।’ चुनावका बेला शान्ति सुरक्षा दिनुपर्ने गृहमन्त्रीले राजीनामा दिने र राम्रो काम गरिरहेकी प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याउनु दुर्भाग्यपूर्ण भएको उनको धारणा थियो ।

एमाले उपाध्यक्ष भीम रावलले अधिनायकवादी शासनतर्फ अग्रसर हुने प्रयास भइरहेको भन्दै महाअभियोग प्रस्तावप्रति आपत्ति जनाए । निर्वाचनको सम्मुखमा उभिएका बेला यस्तो प्रस्ताव आउनुले सत्तापक्ष के चाहन्छ भन्ने स्पष्ट भएको उनले बताए । ‘स्वेच्छाचारी राज्य सञ्चालन गर्ने प्रयास भइरहेको छ, न्यायालयमाथि प्रहार गरी त्यसलाई निष्प्रभावी तुल्याउने काम भएको छ,’ रावलले भने । शान्तिपूर्ण र निष्पक्ष ढंगले सरकारले चुनाव गराउला भन्ने विश्वाससमेत गुम्ने अवस्था सिर्जना भएको रावलले बताए । निर्वाचनलाई अन्यमनस्क अवस्थामा पुर्‍याएको उनको टिप्पणी छ ।

एमाले सचिव योगेश भट्टराईले प्रधानन्यायाधीश कार्कीलाई महाअभियोग प्रस्ताव दर्ता गराएर सत्तारूढ दलले संसदको अधिकारको दुरुपयोग गरेको बताए । ‘संवैधानिक निकायमा एकपछि अर्को हस्तक्षेप गर्दै सरकारले अलोकतान्त्रिक र अधिनायकवादी शासनको अभ्यास गरिरहेको छ,’ सचिव भट्टराईले भने, ‘नाङ्लो देखाएर हात्ती तर्साउने काम भएको छ ।’

पूर्वकानुनमन्त्री समेत रहेका एमाले नेता अग्नि खरेलले पनि मुलुकलाई अस्थिरता र अराजकतातर्फ लैजाने प्रयासस्वरूप महाअभियोग आएको बताए । ‘यो राज्यसंयन्त्रलाई विफल पार्ने प्रयास हो,’ खरेलले भने, ‘अदालतलमा जे प्रकरणको मुद्दा हेरिरहेको छ त्यही न्यायाधीशलाई आवेश र उत्तेजनामा आएर महाअभियोग प्रस्ताव ल्याएको छ ।’ एमालेले पछिल्ला सबै घटनाक्रमहरूमा सोमबारको स्थायी समितिको बैठकमा छलफल गर्नेछ । महाअभियोग प्रकरण र चुनावको भविष्य लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

विरोध प्रदर्शन
एमाले युवा र विद्यार्थी संगठनले प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग प्रस्तावको विरोध गर्दै आइतबार साँझ राजधानीमा मसाल जुलुस प्रदर्शन गरे । एमाले भ्रातृ संगठन युवा संघ र अनेरास्ववियुले बागबजार, रत्नपार्क र नयाँ बानेश्वर क्षेत्रमा जुलुस प्रदर्शन गरेका थिए । उनीहरूले न्यायपालिकामाथि गम्भीर आक्रमण भएको भन्दै त्यसविरुद्ध आन्दोलन चर्काउने चेतावनीसमेत दिए । प्रदर्शनका क्रममा उनीहरूले नयाँ बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाको पुत्लादहनसमेत गरेका थिए ।

यसैबीच, प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठनले बैठक गरी महाअभियोग प्रस्तावको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको छ । संगठनले देशभर सबै बार एकाइमा मंगलबार साढे १ बजे विरोध कार्यक्रम गर्ने अध्यक्ष रुद्र नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘यो महाअभियोग प्रस्तावले स्वतन्त्र न्यायपालिका, विधिको शासन र संवैधानिक सर्वोच्चतामाथि गम्भीर प्रहार गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रधानन्यायाधीशले गरेका राष्ट्रियता रक्षा र भ्रष्टाचारविरोधी तथा विधिको शासनसम्मत निर्णयको विरुद्धमा तथा निर्देशित न्यायपालिकाको पक्षमा यो महाअभियोग प्रस्ताव आएकाले अविलम्ब फिर्ता लिन माग छ ।’

महाअभियोगको विरोधमै नागरिक अलायन्सले सोमबार दिउँसो मण्डलामा प्रदर्शन गर्ने जनाएको छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula