काठमाडौँ, जेठ २८ — वरिष्ठ पत्रकार दिलभुषण पाठकविरुद्ध साइबर अपराध अन्तर्गत उजुरी परेपछि प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी लिएको छ। उजुरी नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका सुपुत्र जयवीर देउवाले दर्ता गराएका हुन्।
पत्रकार पाठकले केही साताअघि प्रसारित रिपोर्टमा काठमाडौंको हिल्टन होटल खरिद प्रक्रियामा जयवीर देउवाको संलग्नताबारे अनुसन्धानात्मक समाचार प्रस्तुत गरेका थिए। सोही रिपोर्टलाई लिएर आपत्ति जनाउँदै देउवाले साइबर अपराध अन्तर्गत उजुरी दिएका थिए।
प्रहरी स्रोतका अनुसार उजुरी दर्तापछि अदालतबाट गोप्यरूपमा पक्राउ अनुमति लिइएको थियो र त्यसपछि मात्र जानकारी सार्वजनिक गर्न निर्देशन दिइएको हो। यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षासम्बन्धी बहस फेरि चर्किएको छ।
संविधानले प्रेस स्वतन्त्रता सुनिश्चित गरेको सन्दर्भमा अनुसन्धानात्मक रिपोर्टिङका लागि पत्रकारलाई आपराधिक प्रकृयामा लैजानु गम्भीर विषय भएको विज्ञहरू बताउँछन्। पत्रकार महासंघ, मानवअधिकार आयोग तथा प्रेस काउन्सिल नेपालले यस विषयमा तत्काल चासो जनाउनुपर्ने आवाज उठेको छ।
सत्तारूढ दलका नेताको नातेदारले पत्रकारमाथि आपराधिक कारबाही गराएको घटनाले सत्ता दुरुपयोगको सम्भावना देखिएको विश्लेषकहरूको भनाइ छ। प्रेस काउन्सिल नेपालले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।
यस घटनाले अनुसन्धान गर्ने पत्रकारहरूलाई हतोत्साहित गर्ने र सत्तासम्बन्धी समाचार रिपोर्टिङमा भयको वातावरण सिर्जना गर्ने चिन्ता व्यक्त गरिएको छ। अन्तर्राष्ट्रिय सञ्चार संस्था र प्रेस स्वतन्त्रता मूल्याङ्कन गर्ने संस्थाहरूबाट समेत नेपालप्रति निगरानी बढ्न सक्ने संकेत देखिएको छ।
पत्रकार पाठकमाथिको उजुरी र पक्राउ प्रक्रिया पारदर्शी, निष्पक्ष र संवैधानिक सीमाभित्र हुनु पर्ने आवाज उठिरहेको छ।

