26.1 C
Kathmandu

बूढानीलकण्ठ नगरपालिकाले बोका बाड्ने

Categories:

-

काठमाडौं, जेठ २५ — बूढानीलकण्ठ नगरपालिकाले चालू आर्थिक वर्ष २०८१/८२ अन्तर्गत सञ्चालन हुने उन्नत बोका वितरण कार्यक्रममा सहभागी हुन इच्छुक किसान, फार्म, समूह तथा सहकारी संस्थाहरूलाई आवेदन दिन आह्वान गरेको छ। पशु सेवा शाखाले सार्वजनिक सूचना जारी गर्दै ५० प्रतिशत लागत साझेदारीमा आधारित उक्त कार्यक्रमका लागि सात दिनभित्र आवेदन दिन आग्रह गरेको हो।

नगरपालिकाभित्र व्यावसायिक बाख्रापालन गरिरहेका किसान, दर्ता भएका निजी फार्महरू तथा सहकारी संस्थाहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिनेछ। पशु सेवा शाखाले गुणस्तरीय उन्नत बोका वितरणमार्फत बाख्रापालन व्यवसायलाई व्यवसायिक र आत्मनिर्भर बनाउन यो कार्यक्रम ल्याएको जनाएको छ।

आवेदन दिन चाहनेहरूले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्र, व्यवसाय दर्ता तथा नविकरण प्रमाणपत्र, प्यान दर्ता तथा कर चुक्ता प्रमाणपत्र, संक्षिप्त कार्ययोजना, कार्यान्वयन क्षेत्रको जग्गा स्वामित्व प्रमाणपत्र वा लिज सम्झौता पत्र, वडा कार्यालयको सिफारिस, पशु बीमाको प्रमाणपत्र र किसान कार्डको प्रतिलिपि संलग्न गर्नुपर्नेछ।

लिजमा लिएको जग्गाको हकमा कम्तीमा तीन वर्षदेखि पाँच वर्ष अवधिको सम्झौता अनिवार्य गरिएको छ। नगरपालिकाले आवेदन मूल्याङ्कन गर्दा गत वर्ष सो कार्यक्रममार्फत बोका नलिएका किसानलाई प्राथमिकता दिने स्पष्ट पारेको छ।

यस कार्यक्रममार्फत स्थानीय कृषकलाई बाख्रापालन व्यवसायमा उत्प्रेरणा दिँदै आत्मनिर्भर उत्पादन प्रणाली विकास गर्ने उद्देश्य राखिएको छ। कार्यक्रमले पशुपालन क्षेत्रमा रोजगारी सिर्जना गर्नुका साथै आर्जन क्षमतालाई पनि बढावा दिने विश्वास लिइएको छ।

थप जानकारीका लागि बूढानीलकण्ठ नगरपालिकाको वेबसाइट www.budhanilkanthamun.gov.np, इमेल info@budhanilkanthamun.gov.np वा टोल फ्री नम्बर १६६००१०००३२ मा सम्पर्क गर्न सकिने नगरपालिकाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य