काठमाडौं, जेठ २१ । ललितपुरको गोदावरी नगरपालिका क्षेत्रको सडक विस्तार कार्यका क्रममा बिजुलीको पोल ढलेर एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा ५८ वर्षीय रमेश खड्गी रहेका छन्।
सडक फराकिलो बनाउने क्रममा खटिएको जेसिबीले पोल छोएपछि त्यसको ठक्करले रमेश खड्गीमाथि खसेको स्थानीयले बताएका छन्। घटनापछि स्थानीयबासी आक्रोशित बनेका छन्। उनीहरूले टायर बालेर विरोध प्रदर्शन गरेका छन् र केही समयका लागि सडक अबरुद्ध गरेका छन्।
प्रहरीले जेसिबी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि लगिएको छ भने घटनास्थलमा थप प्रहरी परिचालन गरिएको छ।
स्थानीयवासीले बिना पूर्वसूचना र सुरक्षात्मक उपायबिना विकास निर्माण कार्य अघि बढाइएको भन्दै आक्रोश पोखेका छन्। उनीहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
घटनाले स्थानीय जनजीवन प्रभावित बनाएको छ भने यसले विकास आयोजनामा सुरक्षा सावधानी कति आवश्यक छ भन्ने सन्देश पनि दिएको छ।


