काठमाडौं, जेठ २१ ।काठमाडौं महानगरपालिकाको नेतृत्व संकटमा फसेको छ। मेयर बालेन्द्र साह (बालेन) प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र उपमेयर सुनीता डंगोलसँगको बढ्दो तकरारबीच पूर्णरूपमा एक्लिँदै गएका छन्। पछिल्लो समय नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डेलाई निलम्बन गरिएको घटनाले स्थिति झनै जटिल बनाएको छ।
प्रशासकीय अधिकृत गुरागाईंले आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको भन्दै पाण्डेलाई छानबिनका लागि निलम्बन गरेका हुन्। नगर प्रहरी प्रमुखको रूपमा पाण्डे बालेनका निकट मानिन्थे, जसले प्रशासनिक निर्णयहरूमा बालेनलाई प्रत्यक्ष सहयोग गर्दै आएका थिए। तर अब नगर प्रहरीको नेतृत्व एसपी विष्णु जोशीलाई दिइएको छ।
उता, उपमेयर डंगोलसँग पनि मेयर बालेनको सम्बन्ध चिसिएको छ। कार्यपालिका सदस्यहरू र अधिकांश वडाध्यक्षहरू पनि बालेनको कार्यशैलीप्रति असन्तुष्ट छन्। उनीहरूले बालेनमाथि अपारदर्शी र मनोमानी ढंगले महानगर चलाउने आरोप लगाउँदै आएका छन्।
कर्मचारीसमेत बालेनसँग असन्तुष्ट देखिन्छन्। प्रमुख प्रशासकीय अधिकृतलाई बिनाआधार बदनाम गर्न खोजिएको भन्दै कर्मचारीहरू खुलेर बोल्न थालेका छन्। यही कारण गत चैत २१ गते कार्यालय प्रवेशमा रोकिएका गुरागाईंलाई पुनः कार्यालय फर्काउन कर्मचारी र जनप्रतिनिधिले एकजुट भएर दबाब दिएका थिए।
कानुनअनुसार प्रत्येक महिनामा बस्नुपर्ने कार्यपालिका बैठक पाँच महिनादेखि बसेको छैन। नीति, कार्यक्रम र बजेट निर्माणको समय नजिकिँदै गर्दा पनि बैठक बस्न नसक्नुले समग्र महानगरको अवस्था संकटग्रस्त देखिन्छ।
संस्थागत समन्वयको अभाव, बढ्दो अविश्वास र शक्ति संघर्षका कारण काठमाडौं महानगरपालिका अहिले नेतृत्वविहीन झैँ बनेको छ। जनप्रतिनिधि, कर्मचारी र प्रशासनबीचको गहिरो विभाजन हट्न नसके काठमाडौंवासीले थप समस्या भोग्नुपर्ने संकेत देखिन थालेको छ।


