काठमाडौं, जेठ १८ । दरबार हत्याकाण्डमा दिवंगत राजा वीरेन्द्रसहित राजपरिवारका सदस्यहरूको सम्झनामा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा नारायणहिटी दरबार परिसरमा गरिन लागेको दीप प्रज्वलन र पूजापाठ अन्तिम समयमा आएर स्थानान्तरण गरिएको छ।
सरकारद्वारा नारायणहिटी क्षेत्र वरपर निषेधाज्ञा लगाइएको कारण पूर्वराजपरिवारले उक्त कार्यक्रम कमलादीस्थित गणेश मन्दिरमा सार्ने निर्णय गरेको हो।
अबको कार्यतालिका अनुसार, भोलि साँझ ६ बजे कमलादी गणेश मन्दिरमा पूजापाठ गरिनेछ।
सो कार्यक्रममा पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी शाह, छोरा हृदयेन्द्र शाहलगायत शाही परिवारका अन्य सदस्यहरू सहभागी हुने भएका छन्।
पूजापाठको समन्वय तथा सहजीकरण ‘राजा फर्काउने जनआन्दोलनका सल्लाहकार’ जगमान गुरुङले गर्ने जानकारी दिइएको छ।
यद्यपि पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह भने झापा बसाइमा रहेकाले पूजामा सहभागी नहुने बुझिएको छ।
हिमानी ट्रस्ट स्रोतका अनुसार, दीप प्रज्वलनजस्तो शान्तिपूर्ण धार्मिक कार्यक्रम निषेधाज्ञाले प्रभावित नहुने प्रारम्भिक अनुमान गरिए पनि, प्रहरीले अवरोध गर्नसक्ने संकेत पाएपछि स्थान परिवर्तन गर्नुपरेको हो।


