काठमाडौं, जेठ १७ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाभन्दा दर्जनौं नेताहरूले प्रधानमन्त्रीको भूमिकामा राम्रो काम गर्नसक्ने दाबी गरेका छन्। शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान पार्टी नेतृत्व र भावी नेतृत्वबारे खुलेर धारणा राखेका हुन्।
“अहिलेको मेरो पार्टीको सभापति भन्दा म अबको १२–१५ महिनापछि उहाँ प्रधानमन्त्री हुने भन्ने छ,” थापाले भने, “म के विश्वास गर्छु भने, उहाँभन्दा मेरो पार्टीभित्र अरु दर्जनौँ मान्छेले राम्रो प्रधानमन्त्री चलाउँछ। मज्जाले सक्छ।”
उनको यो अभिव्यक्तिले नेपाली कांग्रेसभित्रको आन्तरिक नेतृत्व प्रतिस्पर्धालाई संकेत गरेको देखिन्छ। गगन थापा हालैका दिनमा पार्टी नेतृत्वमा रूपान्तरण आवश्यक रहेको धारणा राख्दै आएका छन्।
राजसंस्थाबारे प्रस्ट धारणा
कार्यक्रममा थापाले नेपालमा संवैधानिक राजतन्त्रको सम्भावना अब समाप्त भएको पनि उल्लेख गरे। उनले नेपालमा राजसंस्थाले कहिल्यै पनि संवैधानिक चरित्र देखाउन नसकेको बताए।
“नेपालको राजसंस्था, नेपाली कांग्रेस राजावादी भयो, तर नेपालको राजसंस्था कहिल्यै पनि राजावादी भएन,” उनले भने, “नेपालको राजसंस्था राजतन्त्रवादी भयो। त्यसैले कसैले पनि राजसंस्थालाई संवैधानिक बनाउन सक्दैन।”
उनले बहुदलीय लोकतन्त्र र गणतन्त्र नेपालको राजनीतिक स्थायित्वका लागि आवश्यक भएको बताउँदै अब ‘राजतन्त्र कि गणतन्त्र’ भन्ने बहस आवश्यक नरहेको बताए।
पार्टीभित्रको सन्देश
थापाको अभिव्यक्तिलाई नेपाली कांग्रेसको आगामी महासमिति, महाधिवेशन तथा सम्भावित नेतृत्व परिवर्तनको सन्दर्भमा पनि हेरिएको छ। उनले नयाँ पुस्ताको नेतृत्वले देश र पार्टीको भविष्य निर्माण गर्नसक्ने विश्वास व्यक्त गरेका छन्।


