13.1 C
Kathmandu

बुढानिलकण्ठमा ‘क्रिएटिङ ’ आर्ट ग्यालरी उद्घाटन, कलाकारिता प्रवर्द्धनमा थप योगदान

Categories:

-

काठमाडौं, १७ जेठ — बुढानिलकण्ठ नगरपालिका–२ मा ‘क्रिएटिङ स्कल्प्चर प्रा.लि.’ द्वारा स्थापना गरिएको ‘आर्ट ग्यालरी’को एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ। कार्यक्रममा नगर प्रमुख मिठा राम अधिकारीले ग्यालरीको औपचारिक उद्घाटन गरेका हुन्।

उक्त ग्यालरीमा नेपाली संस्कृति, प्रकृति र समाजका विविध आयामलाई समेट्ने चित्रकला, मूर्तिका तथा अन्य कलात्मक सृजनाहरू प्रदर्शनमा राखिएको छ। कलाकारिताको माध्यमबाट सामाजिक चेतना फैलाउने र स्थानीय स्तरमै सिर्जनशीलता लाई प्रवर्द्धन गर्ने उद्देश्यले ग्यालरीको स्थापना गरिएको हो। ग्यालरीका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले कला क्षेत्रमा क्रियाशील प्रतिभाहरूको सशक्त मंच बनाउने उद्देश्यका साथ यो पहल गरिएको जानकारी दिए।

उद्घाटन समारोहमा नगर प्रमुख अधिकारीले स्थानीय तहबाट कलाको प्रवर्द्धनका लागि आवश्यक सहयोग तथा नीतिगत समर्थन दिइने प्रतिबद्धता जनाए। उनले भने, “बुढानिलकण्ठ ऐतिहासिक, धार्मिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण नगर हो, यहाँको सांस्कृतिक र कलात्मक पक्षलाई संरक्षण र प्रवर्द्धन गर्न यस्ता ग्यालरीहरूले ठूलो भूमिका खेल्छन्।”

सो अवसरमा ग्यालरी स्थापना तथा कला क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै समाजका विभिन्न क्षेत्रबाट क्रियाशील व्यक्तित्वहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा कला, साहित्य, सामाजिक सेवा र पत्रकारिता क्षेत्रमा योगदान दिने व्यक्तिहरू समावेश थिए।

कार्यक्रममा विभिन्न कलाकार, स्थानिय बुद्धिजीवी, जनप्रतिनिधि, पत्रकार तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो। ग्यालरीमा प्रदर्शित कलाकृति सार्वजनिक अवलोकनका लागि नियमित रूपमा खुला गरिने जानकारी आयोजक संस्थाले जनाएको छ।

स्थानीय स्तरमै कलाकारलाई प्रोत्साहन दिने र कलालाई पेशागत रूपमा स्थापित गर्ने यस्ता प्रयासले बुढानिलकण्ठको सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य