काठमाडौं,२३ वैशाख । नेपाल प्रहरीको आधिकारिक वेबसाइट ह्याक भएको छ। ‘काजु’ उपनाम प्रयोग गर्ने एक अज्ञात ह्याकरले वेबसाइट ह्याक गरी झण्डै २० लाख नेपाली नागरिकहरूको संवेदनशील विवरण चोरेको दाबी गरेका छन्। चोरी गरिएका ती डेटाहरू हाल डार्क फोरम नामक प्लेटफर्ममा बिक्रीका लागि राखिएको जनाइएको छ।
ह्याकरले प्रहरीका डेटाको मूल्य न्यूनतम सात हजार अमेरिकी डलर तोकेका छन्। सार्वजनिक विवरणअनुसार डाटा सेटमा नागरिकको नाम, ठेगाना, मोबाइल नम्बर, नागरिकता नम्बर, जन्ममिति लगायतका संवेदनशील व्यक्तिगत जानकारीहरू समावेश छन्। यस्ता विवरणहरू पहिचान चोरी (identity theft), वित्तीय ठगी तथा सामाजिक इंजिनियरिङ हमला जस्ता गम्भीर साइबर अपराधमा प्रयोग हुने सम्भावना अत्यधिक हुन्छ।
नेपाल प्रहरी वा सूचना प्रविधि विभागले यो घटनाको पुष्टि गरिसकेका छैनन्, तर साइबर सुरक्षामा संलग्न विज्ञहरूले घटनाको प्रारम्भिक पुष्टि गरेका छन्। उनीहरूले नेपाल सरकारका डिजिटल पूर्वाधार कमजोर भएको बताउँदै तत्काल उच्चस्तरीय अनुसन्धानको माग गरेका छन्।
“राज्यकै प्रमुख सुरक्षा निकायको वेबसाइटबाट यस्तो संवेदनशील डाटा लिक हुनु सरकारको साइबर सुरक्षाप्रति लापरवाहीको प्रमाण हो,” साइबर विशेषज्ञ विवेक घिमिरेले भने, “यसले लाखौं नेपाली नागरिकको गोपनीयता र सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको छ।”
स्मरण रहोस्, यसअघि पनि विभिन्न सरकारी तथा निजी संस्थाहरूका वेबसाइटहरू ह्याक भइसकेका छन्। तर त्यस्ता घटनामा दोषी पहिचान गर्न र कारवाही गर्न राज्य असफल देखिँदै आएको छ।
हालसम्म प्रहरीले घटनाबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। तर स्रोतका अनुसार घटनाको प्रारम्भिक अनुसन्धान शुरु गरिएको छ। साइबर अपराध महाशाखाले घटनाबारे विज्ञहरूसँग समन्वय गरी तथ्य पुष्टि गर्ने प्रयास गरिरहेको बताइएको छ।


